वीरगञ्ज । २८ मंसिर नेपाल पत्रकार महासङ्घ बाराको अध्यक्षमा रमेश सुवेदी निर्वाचित भएका छन् । 

शुक्रवार नेपाल पत्रकार महासङ्घको देशभर एकैसाथ सम्पन्न निर्वाचनको क्रममा बाराका पत्रकारहरूले पनि नयाँ नेतृत्व चयनका लागि मतदान गरेका थिए । 

मतगणना पूरा भएपछि समाजवादी प्रेस सङ्गठनका उम्मेदवार सुवेदीले नेपाल पत्रकार महासङ्घ बाराको अध्यक्ष पदमा जित हासिल गरेका हुन् ।

निर्वाचन कार्यालयका अनुसार, सुवेदीले ७१ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी श्याम यादवलाई चार मतको झिनो अन्तरले पराजित गरेका छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनका साझा उम्मेदवार यादवले ६७ मत प्राप्त गरेका छन् 

कूल १३९ मत खसेकोमा अन्य केही मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । अध्यक्ष निर्वाचित सुवेदी समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्यसमेत हुन् ।

निर्वाचनपछि सुवेदीले आफ्नो जितलाई पत्रकारहरूको एकता र सहकार्यको सङ्केतका रूपमा व्याख्या गर्दै सबैलाई धन्यवाद ज्ञापन गरे । उनले भने, “यो जित सबै पत्रकार मित्रहरूको विश्वास र सहयोगको परिणाम हो । आगामी दिनमा पत्रकारिताको गरिमा बढाउन म समर्पित रहनेछु ।”

पत्रकार महासङ्घ बाराको उपाध्यक्षसहित अन्य पदाधिकारीहरूको मतगणना पनि जारी रहेको छ । पदाधिकारीहरूको नामावली र तिनको मत परिणाम केही समयभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ ।