चीनको गुआनक्सी प्रान्तस्थित हाङ्झाउको एक विद्यालयमा दुई वर्षअघि घटेको एउटा असामान्य घटनाले अहिले कानुनी निष्कर्ष पाएको छ। सन् २०२३ को अक्टोबरमा शिक्षक बिदामा रहेकाले विद्यालयले विद्यार्थीहरूलाई मनोरञ्जनका लागि फिल्म देखाएको थियो ।

विद्यालय र अभिभावक दुवैले प्रारम्भिक स्वीकृति दिएको भए पनि, प्रदर्शन गरिएको फिल्म हरर प्रकारको थियो। फिल्म हेरेपछि कक्षामा पढ्ने एक किशोरीको मानसिक अवस्था असामान्य बन्दै गयो। घर फर्किएपछि रातभरि डराउने, बर्बराउने र असामान्य व्यवहार देखिन थालेपछि परिवारले उनलाई तत्काल अस्पताल पुर्‍याए ।


चिकित्सकहरूले ती बालिकालाई एक्यूट एन्ड ट्रान्सियन्ट साइकोटिक डिसअर्डर भएको पुष्टि गरे । यस्तो मानसिक विकार अत्यधिक डर, तनाव वा मानसिक आघातका कारण पनि हुन सक्छ। अस्पतालका रेकर्डअनुसार बालिका र उनका परिवारमा पहिले कहिल्यै मानसिक रोगको इतिहास थिएन ।

पीडित परिवारले विद्यालयविरुद्ध मुद्दा दायर गर्दै ३० हजार युआन क्षतिपूर्ति माग गरे। उनीहरूको तर्क थियो — विद्यालयले बालमैत्री फिल्म नदेखाई सावधानीको दायित्व तोड्यो, जसले बालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्‍यो ।

विद्यालयले भने बालिकाको संवेदनशीलता र व्यक्तिगत कारण पनि जिम्मेवार हुनसक्ने बताउँदै आफूहरू १० प्रतिशत मात्र दोषी भएको दाबी गर्‍यो ।

यो घटना सार्वजनिक भएपछि चिनियाँ सामाजिक सञ्जालमा व्यापक बहस भयो — केहीले विद्यालयको गल्ती माने, भने केहीले यो अस्थायी मानसिक विकार भएकाले विद्यालयलाई दोष दिन नहुने तर्क गरे ।

अन्ततः अदालतले विद्यालयलाई ३० प्रतिशत जिम्मेवार ठहर गर्दै ९ हजार १८२ युआन क्षतिपूर्ति तिर्न आदेश दिएको छ। अदालतको निर्णयले विद्यालयहरूको मनोवैज्ञानिक जिम्मेवारी र विद्यार्थीमैत्री शिक्षण वातावरणबारे नयाँ बहस पुनः सुरु गरेको छ ।

विशेषज्ञहरूका अनुसार, यस्तो मानसिक समस्या समयमै उपचार र दीर्घकालीन मनोवैज्ञानिक निगरानीद्वारा पूर्ण रूपमा निको पार्न सकिन्छ ।

यो घटना शिक्षा क्षेत्रमा केवल चेतावनी मात्र होइन, भावी पुस्ताको मानसिक सुरक्षाप्रति गम्भीर सोचको माग पनि हो।