१५ असार सिरहा — सशस्त्र प्रहरी परिवार महिला संघ, मधेश प्रदेशको पहलमा सिरहा जिल्लाको बरियारपट्टीमा आयोजित निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ । संघको २४औं वार्षिकोत्सवको अवसरमा आयोजित यस जनहितकारी कार्यक्रममा ५२२ जना स्थानियले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका छन्, जसले संघको सामाजिक उत्तरदायित्व र समर्पणको प्रशंसायोग्य उदाहरण प्रस्तुत गरेको छ ।

शिविरको उद्घाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री शत्रुधन प्रसाद सिंहले गर्नुभयो । उहाँले सशस्त्र प्रहरी परिवार महिला संघको पहल प्रति गहिरो प्रशंसा व्यक्त गर्दै यस प्रकारका सहकार्यले राज्य, सुरक्षा निकाय र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत सञ्चालन गरिएको शिविरमा काठमाडौंस्थित एपीएफ अस्पताल, छिन्नमस्ता फिल्ड अस्पताल बर्दिवास, प्रादेशिक अस्पताल लहान तथा सिरहाका विशेषज्ञ चिकित्सकहरूमार्फत नाक, कान, घाँटी, आँखाको जाँच, दाँत, प्रसूति तथा स्त्री रोग, हाडजोर्नी र नशा सम्बन्धी स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो । कार्यक्रम विशेषतः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित रह्यो ।

शिविरमा सशस्त्र प्रहरी बलका वाहिनीपति डिआईजी कृष्ण ढकाल, जिल्ला समन्वय समिति सिरहा प्रमुख, बरियारपट्टी र औरही गाउँपालिकाका प्रमुखहरूको उपस्थिति रहेको थियो । उनीहरूले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा राज्यको उपस्थितिलाई जनमैत्री ढंगले अनुभूत गराउने बताए ।

सशस्त्र प्रहरी परिवार महिला संघ, मधेश प्रदेशकी अध्यक्ष संगीता सुवेदीले सबै सहयोगी पक्षहरूलाई धन्यवाद दिँदै भन्नुभयो, “समुदायमा सकारात्मक सन्देश फैलाउने र सेवा पुर्‍याउने हाम्रो प्रयासमा सबैको साथले यो शिविर अत्यन्त सफल रह्यो। आगामी दिनमा हामी अझ प्रभावकारी र जनउत्तरदायी कार्यक्रम ल्याउनेछौं ।”

यसै सन्दर्भमा अध्यक्ष सुवेदीले सप्तरीको शम्भुनाथ नगरपालिकास्थित नेपाल ए.पि.एफ. ठाकोदेवी जोगेन्द्र भगत स्कुलमा विद्यार्थीहरूका लागि खेलकुद सामग्री हस्तान्तरण गर्नुभयो । उक्त सहयोगले बालबालिकाको मानसिक र शारीरिक विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा आयोजित यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले नकारात्मक सोच बदल्दै समुदायमा सुरक्षा निकायप्रतिको विश्वास, सहकार्य र सद्भावको वातावरण सिर्जना गर्न मद्दत पुर्‍याएको छ। संघको यो प्रयास सबै दृष्टिकोणले प्रशंसायोग्य र अनुकरणीय छ ।