पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ३ बढनिहार बजारको पूर्वपट्टि रहेको राष्ट्रिय वनको जग्गा अतिक्रमण प्रयास भएको छ ।
वनको अनुमति बिना नै करिब १० बिघा जग्गामा नगरपालिकाको मिलेमतोमा माटो सम्याउने, नाला र बाटो निर्माण गर्ने कार्य भइरहेको छ । पर्सागढी नगरपालिकाको ना.१ग ७६१ नम्बरको स्काभेटर प्रयोग गरि माटो सम्याउने र नाला खन्ने कार्य भइरहेको स्थानीयले बताएका छन् ।
अतिक्रमण बारे स्थानीयले सब डिभिजन वन कार्यालय बढनिहारलाई जानकारी गराए ता पनि कुनै सुनवाई भएको छैन् । सब डिभिजन वन कार्यालय नजिकै रहेको उक्त क्षेत्रमा अतिक्रमण भइरहेपनि वनका कर्मचारीले अतिक्रमण रोक्न चासो देखाएका छैनन् । स्थानीयका अनुसार वनको जग्गालाई सामाजिक तथा धार्मिक कार्यमा प्रयोग गरिने भन्दै अतिक्रण थालिएको हो ।
रक्षा बन्धनको दिन लाग्ने मेलाका लागि वनको जग्गा सरसफाई गरेको मेला समितिका अध्यक्ष श्यामलाल चौधरीले जनाए । वनसँग अनुमतिका लागि निवेदन दिएपनि स्वीकृत नभएको उनले खुलाए । ‘वनले लिखित रुपमा अनुमति त दिएन,’ उनले भने, ‘तर, मौखिक रुपले मौन स्वीकृति दिएका छन् । अतिक्रमण गर्ने नियत हाम्रो छैन् ।’ वन क्षेत्र हुँदै सडक भने निकाल्ने योजना रहेको उनले सुनाए । मेला र हाटबजारको नाममा वनको जग्गा अतिक्रमण प्रयास भएको स्थानीय अगुवाले आरोप लगाएका छन् । ‘रक्षाबन्धनको दिन लाग्ने मेलाको स्थल हाल अतिक्रमण भइरहेको जग्गाभन्दा उत्तर पट्टि रहेको छ,’ नाम उल्लेख नगर्ने शर्तमा बडनिहार बजारका एक स्थानीयले भने, ‘मेलाका लागि पहिलेदेखि नै प्रयाप्त ठाउँ छ, अहिले मेलाको नाममा वनको जग्गा अतिक्रमण गरि व्यापारिक प्रयोजनमा प्रयोग गर्ने योजना बमोजिम काम थालिएको छ ।’
डिभिजन वन कार्यालय बढनिहारका प्रमुख रामप्रवेश साहले बजार क्षेत्रमा भइरहेको अतिक्रमण बारे अनिभिज्ञता प्रकट गरे । अतिक्रमण हटाउन जाँदा राजनीतिक दलका नेताहरुको दबाब आउने गरेको वनका कर्मचारीले गुनासो गर्दै आएका छन् । ‘नयाँ अतिक्रमण बारे जानकारी नभएको साहले भने, ‘मेला लगाउनका लागि सरसफाई बारे जानकारी गराएका थिए, भौतिक संरचना निर्माण गर्न मिल्दैन् ।’ पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले मेलास्थलमा झारपात सरसफाईका लागि नगरपालिकाको स्काभेटर प्रयोग गरिएको बताए । ‘परम्परागत रुपमा मेला लाग्दै आएको हो, त्यसैको सरसफाईका लागि मेला समितिले स्काभेटर लगेको हो,’ मेयर पाठकले भने, ‘बाटो र नाला पुरानै हो ।’ उक्त क्षेत्रमा भौतिक निर्माण लागि नगरपालिकाले बजेट नछुट्याएको मेयरले जनाए ।