अन्तर्राष्ट्रिय निन्दा हुनेगरी रुसले युक्रेनका चारवटा क्षेत्रहरूलाई औपचारिक रूपमा रुसमा गाभेको छ।
शुक्रवार क्रेम्लिनको सेन्ट जोर्जेज् हलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मस्कोले स्थापना गरेका नेताहरूका साथ त्यससम्बन्धी “सन्धिहरू”मा हस्ताक्षर गरेका थिए।
पुटिनले रुसले सबै तरिकाबाट आफ्नो नयाँ भूभागको रक्षा गर्ने र ती नयाँ क्षेत्रहरूमा सुरक्षा बढाउने बताएका छन्।
कुलीन रुसी राजनीतिज्ञ र सेनासँगको भेलामा बोल्दै उनले त्यो कुरा बताएका हुन्।
उनले युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ताको टेबुलमा फर्किन आह्वान पनि गरेका छन्।
प्रतिक्रियास्वरूप किएभले भने उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्य हुनका लागि एउटा नयाँ र छिटो हुने प्रक्रियाका लागि प्रयास थालेको छ।
आफ्ना प्रधानमन्त्री र संसदका सभामुखसाथ रहेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन लामो समयदेखि उक्त सुरक्षा सङ्गठनको ‘डी फ्याक्टो’ (विधानतः नभए पनि व्यवहारमा ) सदस्य रहेको बताउँदै सीमालाई परिवर्तन गर्ने मस्कोले “हत्या, झुक्काउने काम, गलत व्यवहार र झूट प्रयोग गरेको” आरोप लगाए।
“हामीले नेटोमा जोडिनका लागि युक्रेनको आवेदनलाई तीव्रता दिन निर्णायक कदमका लागि हस्ताक्षर गरेका छौँ,” मध्य किएभबाट बोलेका जेलेन्स्कीले भने।
बाइडनले दिए पुटिनलाई चुनौती
शुक्रवारको घोषणापछि राष्ट्रपति जो बाइडनले रुसलाई चेतावनी दिँदै अमेरिका रुसको धम्कीबाट नडराउने बताएका छन्।
राष्ट्रपति पुटिनले रुसमा बलपूर्वक गाभिएका रुसी भूभागको रक्षाका लागि परमाणुअस्त्र प्रयोग गर्ने अप्रत्यक्ष धम्की दिएको देखिन्छन्ती भागहरू “सधैँ” रुसी हिस्सा रहने उनले बताए।
राष्ट्रपति बाइडनले रुसी समकक्षीका “दुस्साहसिक शब्द र धम्की” को आलोचना गर्दै पुटिनले “आफूहरूलाई तर्साउन नसक्ने” बताए।
अमेरिका र उसका साझेदारहरू भयभीत हुनेछैनन्,” राष्ट्रपति बाइडनले ह्वाइटहाउसमा भने।
त्यसपछि उनले क्यामरातर्फ औँला ठड्याउँदै रुसी राष्ट्रपतिलाई चुनौती दिए।
“नेटो भूभागको प्रत्येक इन्च रक्षाका लागि अमेरिका उसका साझेदारसँग पूर्ण रूपमा तयार छ,” उनले पश्चिमा सुरक्षा सङ्गठनको प्रसङ्ग निकाल्दै भने।
“मिस्टर पुटिन, मैले भनिरहेको कुरालाई गलत नबुझ्नू: प्रत्येक इन्च।”
त्यसको केही बेरमा बाइडनका एक वरिष्ठ राष्ट्रिय सुरक्षा सल्लाहकारले मस्कोले परमाणुअस्त्रको सहारा लिने सम्भावना रहेको रहेको त्यो तत्कालको जोखिम भने नरहेको जनाए।
गाभिएका क्षेत्र कुनकुन हुन् ?
ती गाभिएका क्षेत्रमा बस्ने मानिसहरूले नै त्यस्तो छनोट गरेको पुटिनले दाबी पनि गरे।
तर ती क्षेत्रमा गरिएका जनमतसङ्ग्रह भने “छद्म” भन्दै निन्दा भएको छ।
संयुक्त राष्ट्रसङ्घ, युक्रेन र उसका साझेदारहरूले ती जनमतसङ्ग्रहलाई गैरकानुनी भन्दै आलोचना गर्दै आएका छन्।
राष्ट्रसङ्घले त्यसरी अर्को देशको भूमि आफूमा गाभ्नुले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने जनाएको थियो।
गाभिन लागेका क्षेत्रहरू रुस नियन्त्रित डोनेट्स्क, लुह्यान्सेक, खेअरसन र जापोरीजा हुन्।
रुसले ती क्षेत्रमा नियुक्त गरेका नेताहरूले औपचारिक पत्रमा हस्ताक्षर गरेका छन्।
राष्ट्रपति पुटिनले पनि त्यसमा हस्ताक्षर गरेका छन्।
ती क्षेत्रका प्रतिनिधिहरूबीच परिचय गराइँदा दर्शकहरूले तालि बजाएका थिए।