वीरगञ्ज महानगरपालिकाले गण्डकदेखि शंकराचार्य गेट सम्मको क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । सडक बिस्तारका लागि सो क्षेत्रमा अनाधिकृत रुपमा निर्मित घर, टहरा लगायतका संरचना हटाउन महानगरपालिकाले सूचना जारी गरेको हो ।

वीरगंजको गण्डक चौकदेखि पावर हाउस, घण्टाघर, माईस्थान, महावीर स्थान, आदर्शनगर, अलखिया मठ, विर्ता मन्दिर, सिगरेट फ्याक्ट्री गेट, नारायणी अस्पताल, वीरगञ्ज भन्सार कार्यालय हुँदै दक्षिण शंकराचार्य गेटसम्म रोडका दायाँबायाँ सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सूचनामार्फत निर्देशन दिएको मेयर राजेशमान सिंहले जानकारी दिएका छन् ।

मुण्य सडकको दुबैतर्फ निर्माण भएका घरहरूको वीरगञ्ज महानगरपालिकाबाट नक्सा स्वीकृत भए नभएको सबुत प्रमाण लिई सूचना प्रकाशित भएको ३५ दिनभित्र आगामी असोज २५ गतेसम्म महानगरपालिका कार्यालयको भवन निर्माण तथा इजाजत शाखामा उपस्थित हुन पनि पत्रमार्फत आग्रह गरिएको छ ।

सूचनामा सडकको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएको प्रमाणित भएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कारबाही गरिने समेत जानकारी गराइएको छ ।