१३ असार बीरगञ्ज - माध्यमिक शिक्षा परीक्षा कक्षा- १० एसइईको नतिजा सार्वजनिक भएको छ ।बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय बिच बसेको बैठकको निर्णयसँगै नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताएका छन् । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।
गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
यस वर्षदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक अर्थात् ‘डी’ ग्रेड नल्याउने विद्यार्थी ननग्रेड भएका हुन्।
‘डी’ ग्रेड अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजा ननग्रेडिङ (एनजी) भएको छ।