असोज २, वीरगञ्ज । भारतको मुजफ्फरपुरमा अलपत्र अवस्थामा रहनुभएकी एक नेपाली महिलाको जिल्ला प्रहरी कार्यालय पर्सा र मानवसेवा आश्रम वीरगञ्जको निरन्तर पहल, समन्वय तथा सहकार्यमा सफल पारिवारिक पुनर्मिलन भएको छ ।

भारतको मुजफ्फरपुरमा असहाय अवस्थामा रहनुभएकी ती महिलालाई २०८३ भदौ २७ गते शनिबार भारतीय प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा र मानवसेवा आश्रम वीरगञ्जको संयुक्त समन्वय तथा सहकार्यमा उद्धार गरी वीरगञ्ज ल्याइएको थियो ।

उद्धारपछि मानवसेवा आश्रम वीरगञ्जले उहाँलाई आवश्यक संरक्षण, हेरचाह तथा आत्मीय वातावरण प्रदान गर्दै परिवारको खोजी र सम्पर्क स्थापनाका लागि निरन्तर पहल गरेको थियो । लामो समयदेखि परिवारबाट टाढा रहनुभएकी उहाँको पारिवारिक अवस्था पहिचान गरी अन्ततः बुवासँग सम्पर्क स्थापित गर्न सफलता मिलेको हो ।

परिवारसँग सम्पर्क स्थापित भएपछि आज जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक श्री पवनकुमार भट्टराई, प्रहरी नायब उपरीक्षक श्री चक्र मल्ल तथा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता श्री देवेश गुप्ताको उपस्थितिमा उहाँलाई बुवाको जिम्मा लगाइएको हो ।

लामो समयपछि बुवाको साथमा फर्किन पाउँदा ती महिलाको अनुहारमा देखिएको खुसी र परिवारमा देखिएको भावुक वातावरणले पुनर्मिलनको मानवीय महत्वलाई थप उजागर गरेको छ ।

यो घटना उद्धारमा मात्र सीमित नभई असहाय अवस्थामा रहेका व्यक्तिको पहिचान, संरक्षण, परिवारको खोजी तथा सुरक्षित पारिवारिक पुनर्मिलनसम्म पुर्‍याउने मानवीय अभियानको उदाहरण बनेको छ । यस कार्यमा जिल्ला प्रहरी कार्यालय पर्साको सक्रियता तथा मानवसेवा आश्रम वीरगञ्जको निरन्तर पहल र समन्वय महत्वपूर्ण बनेको छ ।

भारतको मुजफ्फरपुरदेखि वीरगञ्ज हुँदै परिवारसम्म पुर्‍याउने सम्पूर्ण प्रक्रियामा भारतीय प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा, मानवसेवा आश्रम वीरगञ्ज तथा विभिन्न सहयोगी हातहरूको सहकार्य महत्वपूर्ण रहेको थियो ।

मानवसेवा आश्रम वीरगञ्जले यस मानवीय कार्यमा सहयोग, समन्वय र सहकार्य गर्नुहुने भारतीय प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा, प्रहरी अधिकारीहरू तथा सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।