वीरगन्जमा मंगलबारदेखि मोफसलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले नेसनल स्पोर्ट्स एकेडेमी सञ्चालनमा आएको छ । ज्ञानदा एकेडेमी वीरगन्जले उक्त एकेडेमी सञ्चालनमा ल्याएको हो । 


पर्सा क्रिकेट संघका अध्यक्ष मनीष सिंहले एकेडेमीको उद्घाटन गरे । सिंहले पर्याप्त पूर्वाधार तथा जनशक्तिसहित सञ्चालनमा आएको एकेडेमीले वीरगन्ज मात्र नभई मधेश प्रदेशमै क्रिकेटका स्तरीय खेलाडी उत्पादन गर्न सफल हुने विश्वास व्यक्त गरे । ज्ञानदा एकेडेमीका सीईओ तथा प्रिन्सिपल राजेन्द्रप्रसाद कोइरालाले एकेडेमीले गुणस्तरमा सम्झौता नगरेकाले एकेडेमीबाट प्रतिभावान खेलाडी उत्पादन हुने दाबी गरे । उनले भविष्यमा क्रिकेटसँगै फुटबल, बास्केटबललगायतका खेलको पनि एकेडमीमा प्रशिक्षण दिइने बताए ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले नेपाली क्रिकेटमा वीरगन्जको योगदान लामो समयदेखि रहँदै आएको बताउँदै वीरगन्जमा एकेडेमी सञ्चालन हुनु खुसीको कुरा भएको बताए । उनले एकेडेमीबाट दीक्षित भएर भविष्यमा वीरगन्जबाट अझ प्रतिभावान खेलाडी राष्ट्रिय क्रिकेट टोलीमा आउनेमा आफू आशावादी रहेको बताए । पौडेलले शारीरिक तन्दुरुस्तीका लागि सबैले दैनिक २४ घण्टामध्ये एक घण्टा खेलकुदलाई छुट्याउनु पर्ने सुझाव दिए ।