काठमाडौं, १० असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई सम्बोधन गरेर प्रधानमन्त्री आज स्वदेश फर्किँदै हुनुहुन्छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित महासभामा भाग लिएर प्रधानमन्त्री असोज १० गते शनिबार स्वदेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको स्वदेश आगमन तथा अमेरिका भ्रमणको उपलब्धिबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आजै प्रेस ब्रिफिङको आयोजना गरेको छ । परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले अपराह्न ३:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष (भीआईपी लाउन्ज) स्थित मिडिया कक्षमा प्रेस ब्रिफिङ गर्नुहुनेछ ।

सञ्चार माध्यमका प्रतिनिधिहरूलाई ब्रिफिङ सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अगावै उपस्थित गराउन सूचना तथा सञ्चार मन्त्रालयको प्रेस तथा सूचना समन्वय शाखाले सूचना तथा प्रसारण विभागलाई अनुरोध गरेको छ ।

प्रेस ब्रिफिङमार्फत प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घ महासभाको सहभागिता, विभिन्न द्विपक्षीय भेटवार्ता र भ्रमणका प्रमुख उपलब्धिहरूबारे आधिकारिक जानकारी सार्वजनिक गरिनेछ ।