१५ असार वीरगञ्ज - गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।


मालिका गाउँपालिका–६, कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका पाँचै जनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ । घटनापछि सदरमुकाम तम्घासबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलमा गएको थियो ।


हिरोले भेषबहादुरको ढुंगामाटोले बनेको दुई तले घर पुरेको थियो । घर पहिरोले पुरिएको बिहान ७ बजे मात्रै जानकारी भएको प्रहरीले जानकारी दिएका छन्।

अहिलेसम्म हेर्दा विगत वर्षको तुलनामा यस वर्ष पहिरोले धनजनको क्षति बढाएको छ।बुधवारसम्म देशभरि मनसुनी गतिविधि सक्रिय हुने विवरण आइरहेको समयमा विज्ञहरूले बाढी तथा पहिरोबाट जोगिन मौसम र विपद्सम्बन्धी पूर्वचेतावनीलाई समुदायले अटेर नगर्न सुझाव दिएका छन्।