अविरल वर्षाका कारण ठाँउ-ठाँउमा आएको पहिरोले बीपी राजमार्ग, मध्येपहाडी लोकमार्ग र मदनभण्डारी राजमार्ग मङगलबार बिहानदेखि अवरद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बीपी राजमार्गको बर्दिबास–नेपालथोक खण्डमा आधा दर्जनभन्दा बढी स्थानमा बाढी, पहिरो र खहरेका कारण यातायात अवरुद्ध बनेको हो । 

सुनकोसी गाँउपालिकाको कमेरेफाँटमा माथिबाट लेदोमाटो बगेर सडकमा थुप्रिँदा यातायात अवरुद्ध भएको छ । उक्त लेदोमाटो मेसिन लगाएर पन्छाई यातायात खुलाउने प्रयास भईरहेको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो ।

बीपी राजमार्ग अन्तर्गत दुम्जा, भिमान र माईस्थानमा ठुला पहिरो खसेका छ । बीपी राजमार्गको वर्दिवास-सिन्धुलीमाढी खण्ड अन्तर्गत विभिन्न ठाँउमा खहरेहरुमा आएको बाढीले लच्कामा ढुंगा सहितको गेगर (रोडा) थुपार्दा राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडकमा खहरेले थुपारेको रोडा मेसिनको प्रयोग गरेर हटाइ यातायात सुचारु गर्ने प्रयास भईरहेको एसपी सिलवालको भनाइ छ ।

त्यस्तै, मध्येपहाडी लोकमार्गको ६१ किलोमिटर लम्बाईको खुर्कोट–घुर्मी खण्ड अन्तर्गत सोखुखोला र हैबार बेसिको अक्करे भिरमा पहिरो खस्नाले यातायात अबरुद्ध भएको पनि उहाँले बताउनुभयो। मध्येपहाडी लोकमार्गमा यातायात अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, रामेछापबाट राजधानी काठमाडौं आवतजावत गर्ने यातायातका साधनहरु बीच बाटोमा नै अलपत्र परेका स्थानीयले बताएका छन् ।

मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारदेखि मरिण र हरिहरपुर गाउँपालिकास्थित बागमती नदी किनारासम्म दर्जन बढी स्थानमा पहिरो खसेको छ । राजमार्गको चुरे क्षेत्रमा धेरै जसो पहिरो खसेको र अधिकांस खहरेबाट बाढी आएको एसपी सिलवालले सुनाउनुभयो ।

त्यस्तै, कमला नदीमा बाढीले खतराको तह पार गरेपछि कमलामाई नगरपालिका र दुधौली नगरपालिका जोखिममा परेको छ । कमला नदीमा तीन मिटरसम्मको तहलाई खतरा मानिएको छ । कमलामाई नगरपालिका १४ रानिवासमा रहेको जलमापन केन्द्रका कमला नदीमा अहिले तीन मिटर ३० सेन्टिमिटर बाढी पुगेको छ । जलमापन केन्द्रकी सीता पौडेलले कमला नदीमा बाढीको सतह मङ्गलबार बिहान ३ बजेको मापन अनुसार तीन मिटर ३० सेन्टिमिटर पुगेको बताउनुभयो । 


कमलामाई नगरपालिकाको वडा नं. १३ र १४ सहित दुधौली नगरपालिकाको निपाने, हत्पते, डकाहा, हर्षाही, टाँडी, दुधौली लगायतका क्षेत्र उच्च जोखिममा परेका छन् । नदीले खेत कटान समेत गरिरहेको छ । डुबान हुने क्षेत्रमा उच्च सर्तकता अपनाउन सिन्धुली प्रशासनले अनुरोध गरेको छ ।



साभारः गोरखापत्र अनलाइन