१२ असार वीरगञ्ज -राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर कुनै प्राविधिक समस्या नआए आज अपराह्नसम्म नतिजा प्रकाशित गरिने अन्तिम तयारीमा पुगेको जानकारी दिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । बोर्डका अनुसार यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक हुने छ।परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताएका छन् । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।
२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएको हो ।
चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।