कलैया, बारा, ३० असार २०८३,

​लगातारको वर्षाका कारण नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रअन्तर्गतको कलैया सब-स्टेशन डुबानमा परेको छ । आज परेको भारी वर्षाका कारण सब-स्टेशनको परिसर तथा मुख्य सञ्चालन कक्ष वरपर पानी जमेर पूर्ण रूपमा जलमग्न भएको छ ।

​सब-स्टेशनभित्र पानी पसेपछि संवेदनशील विद्युत उपकरणहरूमा क्षति पुग्न सक्ने र ठुलो दुर्घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै तत्काल पानी निकाल्ने कार्य सुरु गरिएको छ । अहिले स्थानीय प्रशासन, सुरक्षा निकाय र प्राधिकरणका कर्मचारीहरूको संयुक्त सक्रियतामा दमकल तथा पम्पिङ मोटरहरूको प्रयोग गरी जमेको पानी बाहिर फाल्ने प्रयास जारी रहेको छ ।

विद्युत आपूर्ति प्रभावित:

सुरक्षार्थ सब-स्टेशनका कतिपय उपकरणहरू तत्कालका लागि बन्द गर्नुपरेकाले कलैया तथा आसपासका क्षेत्रको विद्युत आपूर्ति प्रभावित भएको छ ।

​प्राधिकरणका स्थानीय अधिकारीका अनुसार सब-स्टेशनबाट पानी पूर्ण रूपमा निकास गरी उपकरणहरूको सुरक्षा जाँच (Testing) गरेपछि मात्र विद्युत सेवा नियमित गरिनेछ। तबसम्मका लागि धैर्यता अपनाउन र विद्युत अवरोधबाट हुन सक्ने असुविधाप्रति सजग रहन प्राधिकरणले उपभोक्ताहरूमा अनुरोध गरेको छ ।