पर्सा, वीरगञ्ज — जिल्ला पर्साको वीरगञ्ज–१६ स्थित वीरगञ्ज भन्सार कार्यालय नजिकै सशस्त्र प्रहरी बल नेपाल (स.प्र.बल) द्वारा श्रोत नखुलेको ठूलो परिमाणको नगदसहित तीन जना भारतीय नागरिक तथा एक स्कार्पियो गाडी नियन्त्रणमा लिइएको छ ।


वीरगञ्ज भन्सार चेकजाँच बिन्दुबाट करिब ५० मिटर अगाडि, त्रिभुवन राजपथ सडकखण्डमा सवारी चेकजाँच गर्ने क्रममा, स.प्र.बल प्र.सि.सु. गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको BR 22 P 8300 नम्बरको सेतो रंगको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी जाँच गर्दा सिट पछाडि रहेको पकेटमा लुकाई छिपाई ल्याइएको श्रोत नखुलेको नेपाली नगद रु. ९,५९,०००।- फेला पारेको हो ।

उक्त नगदसहित स्कार्पियो गाडी र गाडीमा सवार तीन जना भारतीय नागरिकहरूलाई नियन्त्रणमा लिई, आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ। बरामद गरिएको स्कार्पियो गाडीको भन्सार मूल्याङ्कन रु. ३०,००,०००।- गरिएको छ ।

पक्राउ परेका व्यक्तिहरूको परिचय यस प्रकार छः १. विजय प्रसाद, करिब ५९ वर्ष, भारतको पश्चिम चम्पारण जिल्ला, बेतिया ग्राम पंचायत, वडा नं. ७ बसोबास। २. मनोज कुमार सहनी, करिब ४६ वर्ष, भारतको पश्चिम चम्पारण जिल्ला, जौकटिया ग्राम पंचायत, वडा नं. १२ बसोबास। ३. सन्तोष कुमार श्रीवास्तव, करिब ४३ वर्ष, भारतको पश्चिम चम्पारण जिल्ला, छाउनी चोक ग्राम पंचायत, वडा नं. २७ बसोबास ।

सशस्त्र प्रहरी बलले शंका लाग्दो गतिविधि देखेर चेकजाँच कडा बनाएको र आर्थिक अपराध तथा अवैध कारोवारमा संलग्न हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै कारबाही अघि बढाएको बताइएको छ ।