बीरगंज, १० साउन — बीरगंज महानगरपालिका वडा नम्बर २५, सिरिसिया भसारका करिब ४५ वर्षीय राजकुमार प्रसाद कुर्मीको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ । चिकित्सकको लापरवाही र बिग्रिएका स्वास्थ्य उपकरणका कारण बिरामीको ज्यान गएको भन्दै मृतकका परिवार र स्थानीयवासी आक्रोशित बनेका छन् ।

​स्थानीयका अनुसार शनिबार एक्कासि छाती दुखेपछि कुर्मी आफैं मोटरसाइकल चलाएर उपचारका लागि नारायणी अस्पतालको इमर्जेन्सी (आकस्मिक) कक्षमा पुगेका थिए । तर, इमर्जेन्सीमा खटिएका नयाँ विद्यार्थी (इन्टर्न) तथा जिम्मेवार चिकित्सकहरूले अक्सिजन लगायत तत्काल आवश्यक पर्ने मेसिन तथा उपकरणहरू सञ्चालनमा छन् कि छैनन् भन्ने यकिन नै नगरी उपचार सुरु गरेका थिए । मेसिनले काम गरे/नगरेको निश्चित नगरी हतारमा उपचार थालिएको केही बेरमै कुर्मीको मृत्यु भएको परिवारजनले जनाएका छन् ।

​मृतकका आफन्त र स्थानीयवासीले अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सकहरूमाथि गम्भीर लापरवाहीको आरोप लगाएका छन् । नारायणी अस्पतालको इमर्जेन्सी सेवामा रहेका अत्यावश्यक उपकरणहरू लामो समयदेखि बिग्रिएको अवस्थामा रहेको र सोही बिग्रिएका मेसिन प्रयोग गर्दा बिरामीको ज्यान गएको उनीहरूको दाबी छ ।

​घटनापछि आक्रोशित बनेका स्थानीय र आफन्तहरूले अस्पताल परिसर अगाडि प्रदर्शन गर्दै टायर बालेर विरोध जनाउन खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही बेर झडपसमेत भएको छ। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।