बीरगञ्ज ( पर्सा )- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।
हाल १०६ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्छ।
सिंहले ५५ सांसदको समर्थनसहित प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष मुख्यमन्त्रीमा दावी गरेका हुन्।
बिहीबार नै मुख्यमन्त्रीमा दावी पेस गर्ने तयारी भएपनि दलहरूबीच मन्त्रालय भागबण्डा नमिल्दा आज मात्र दावी गरिएको हो।
सहमतिअनुसार एमालेले भौतिक पूर्वाधार, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा संस्कृति र खेलकुद तथा समाज कल्याण गरी चारवटा मन्त्रालय पाएको छ।
जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि नियुक्त भएका मुख्यमन्त्रीसहितका १४ जना नवनियुक्त मन्त्रीहरूले शपथ लिएकाे प्रदेश प्रमुखको कार्यालयले जनाएका छन् । अर्थमन्त्रीमा माओवादीका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई नियुक्त हुनुभएको छ । यस्तै, एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव (महोत्तरी) भौतिक पूर्वाधार विकास मन्त्री, एकीकृत समाजवादीबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त हुनुभएको छ । यसैगरी, एकीकृत समाजवादीकै बेंची लश्रलीलाई ऊर्जा, सिँचाइ र खानेपानी मन्त्री, एक मात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिलादेवी सिंहलाई श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी दिइएको छ ।