पर्सा, कार्तिक ७ – सशस्त्र प्रहरी बल, नेपाल पर्साले भन्सार छली गरी नेपाल भित्र्याएका करिब रु. ६ लाख २४ हजार ५० बराबरका सामान र मोटरसाइकलहरू बरामद गरी बीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

मिति २०८२।०७।०६ गते, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोष्ट प्रसौनीभाठ्ठा बाट खटिएको टोलीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठ्ठा स्थित क्षेत्रमा भारतबाट अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरेको रु. २ लाख ७६ हजार ३४० बराबरको कपडा बरामद गरेको थियो। बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विश्वराज योन्जनले जानकारी दिएका छन् ।

त्यस्तै, सोही मितिमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्सा बाट खटिएको अर्को टोलीले धोविनी गाउँपालिका–१, जानकीटोला नजिक भारतबाट भन्सार छली मो.सा.मा लोड गरी ल्याउँदै गरेको रु. ७३ हजार ५०० बराबरका किराना तथा कस्मेटिक सामग्रीहरू बरामद गरेको हो। उक्त कार्यमा संलग्न व्यक्ति मोटरसाइकल छाडी फरार भएको र बरामद सामानहरू बीरगंज भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारीले बताएका हुन् । 

त्यसैगरी, मिति २०८२।०७।०७ गते, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोष्ट अमरपट्टी बाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–३, झौवा नजिक नेपालबाट भारततर्फ मो.सा.मा लोड गरी लैजाँदै गरेको रु. ४,२१० बराबरको स्याउ र उक्त कार्यमा प्रयोग भएको रु. २ लाख ७० हजार बराबरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको डिएसपी विश्वराज योन्जन बताए ।

सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जन का अनुसार, सशस्त्र प्रहरी बलले सीमाक्षेत्रमा अवैध ओसारपसार र तस्करी नियन्त्रण गर्न लगातार निगरानी तथा नियन्त्रण अभियानलाई थप सुदृढ बनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका विभिन्न सीमाक्षेत्रस्थित पोष्टहरूले हालैका दिनहरूमा अवैध सामान ओसारपसार रोकथाममा उल्लेखनीय सफलता हात पारेका छन्, जसले सीमाक्षेत्रमा सुरक्षाको प्रभावकारिता झनै मजबुत बनाएको देखिन्छ ।