काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफूविरुद्धका आरोप र विवादबीच कसैप्रति घृणा वा नकारात्मकता नफैलाउन आग्रह गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै उनले लेखेका छन्  । “कसैप्रति पनि घृणा नगरौं, नकारात्मकता नफैलाऔं ।” लामिछानेले आफूविरुद्ध आएका सामग्री कानुनी रूपमा अध्ययन भइरहेको समेत बताएका छन् ।

यसअघि उनले एक युट्युब च्यानलमा प्रकाशित भिडियोले आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका थिए । उक्त भिडियो सार्वजनिक भएपछि उनका समर्थकहरुले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया दिएका थिए । हाल उक्त भिडियो युट्युबबाट हटाइएको छ ।

लामिछानेले आफ्नो स्टाटसमा थप उल्लेख गरेका छन् । “मेरो वकिलले सबै कुरा हेरिरहेको छ । नेपाल फर्किएपछि यो विषयमा विस्तृत रूपमा सम्बोधन गर्नेछु ।”

हाल सन्दीप आईसीसी क्रिकेट विश्वकप लिग–२ मा सहभागिता जनाउनका लागि दुबईमा रहेका छन् । उनले विवादका बीच पनि क्रिकेटमा आफ्नो ध्यान केन्द्रित राख्ने बताएका छन् ।