७ असोज ,पर्सा – सशस्त्र प्रहरी बल नं.१३ गण पर्साले आज आफ्नो सक्रियता प्रमाणित गर्दै ठूलो मात्रामा हुण्डी र भन्सार छली गरिएका कपडा तथा किराना समान बरामद गरेको छ। गणपति पुरण चन्द्र भट्टको सकृय नेतृत्वमा सञ्चालित यो अपरेशनले सीमा क्षेत्रमा सक्रिय तस्कर र अवैध कारोबारीलाई ठूलो झड्का दिएको छ।
आज मङ्लबार दिउँसो करिब १:५० बजे बिरगंज भन्सार मेनगेट नजिक खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR 05 BF 0469 नम्बरको मोटरसाइकल रोक्दा चालकसहित रु. ८,०७,०००/- नगद फेला पारेको हो। उक्त रकमको कुनै वैधानिक स्रोत नदेखिएकाले रू.३ लखको मोटरसाइकलसहित पर्सा सखुवापर्सौनी गा.पा.–०५ बस्ने करिब ४३ वर्षीय राजेश कुमार साह तेलीलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिनुभयो हो ।
यसैगरी, आजकै दिन दिउँसो १२:२५ बजे, नगवा पानी ट्याङ्की नजिक बालकुमार राउत कुर्मीको घरमा भन्सार छली गरी भण्डारण गरिएका करिब रु.१,८९८,००० मूल्य बराबरका कपडा र किराना सामान बरामद गरिएको छ। संयुक्त टोलीमा प्र.सी.सु.गुल्म बीरगञ्जका सशस्त्र प्रहरी नायब उपरीक्षक ( डिएसपी ) पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएका ९ जना र भन्सार कार्यालयका २ जनाको टिम सहभागी रहेको सुचना अधिकारी कार्कीले बताएका छन् ।
‘स्मार्ट सिक्युरिटी’ अपरेशन: गणपति ( एसपी)पुरण चन्द्र भट्टले सीमा क्षेत्रमा आधुनिक सुरक्षा मोडेल र टेक्नोलोजी स्पोर्टेड अपरेशनले सीमावर्ती जनताले महसुस गरे सुरक्षा, तस्करमा त्रास
पर्सा जिल्लामा सशस्त्र प्रहरी बलका एसपी गणपति पुरण चन्द्र भट्टले सीमा सुरक्षा मोडेलमा नयाँ युगको सुरुवात गर्नुभएको छ।
परम्परागत सुरक्षा प्रणालीलाई तोड्दै टेक्नोलोजी-समर्थित ‘स्मार्ट सिक्युरिटी अपरेशन’ सञ्चालन गर्नु भएको छ, जसले अवैध गतिविधिमा संलग्न समूहहरूमा ठूलो त्रास सिर्जना गरेको छ।
एसपी भट्टले सूचना सङ्कलन, निगरानी र नियन्त्रण प्रणालीमा आधुनिक प्रविधिको प्रयोग गर्दै सीमा क्षेत्रमा सुरक्षा परिचालनमा नयाँ मापदण्ड स्थापना गर्नुभएको छ।
भट्टले भन्नुभयो, “नेपाल–भारत खुला सीमा हाम्रो मित्रता र सौहाद्र्रको प्रतीक हो, तर यसलाई गैरकानुनी कारोबारको बाटो बन्न दिन्नौं। सशस्त्र प्रहरी बल सदैव सतर्क छ र यस्ता गतिविधि नियन्त्रणमा अझ कडाइ गर्नेछ।”
हुण्डी किन खतरनाक?
हुण्डी मार्फत रकम भित्र्याउनु गैरकानुनी मात्र होइन, अपराधजन्य गतिविधिको माध्यम पनि हो। यसमार्फत ल्याइएको रकम सुन तस्करी, लागुऔषध कारोबार, मानव बेचबिखन र अवैध हातहतियार किनबेच जस्ता जोखिमपूर्ण अपराधमा प्रयोग हुने तथ्य भेटिएको छ।
आजको यो अपरेशनले पुनः प्रमाणित गरेको छ कि सशस्त्र प्रहरी बल सीमा सुरक्षामा १००% प्रतिबद्ध छ। गणपति पुरण चन्द्र भट्टको नेतृत्वमा भविष्यमा पनि यस्ता अवैध क्रियाकलापलाई नियन्त्रण गर्न अझ बढी कडाइ गरिने स्पष्ट सन्देश गएको छ।