नेपाली कांग्रेस का पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुङटा को घरदैलो अभियानलाई स्थानीय जनताले भव्य स्वागत गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ चोर्नी मा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाले उत्साहपूर्वक सहभागिता जनाउँदै रुङटालाई फूलमाला , अबिर तथा नारासहित अभिनन्दन गरेका थिए ।
घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङटाले प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो क्षेत्रको समग्र विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताए । उनले रोजगारी सिर्जना , शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार र पूर्वाधार विस्तारलाई योजनाबद्ध ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
घरदैलोका क्रममा उनले स्थानीय नागरिकका गुनासा , सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुनेका थिए । “ जनताको मत नै मेरो शक्ति हो , क्षेत्रको दिगो विकासका लागि निरन्तर लागिपर्नेछु , ” रुङटाले भने ।
यसैबीच प्रचारप्रसार समितिका मधेश प्रदेश सदस्य राहुल गुप्ता ले कोनियामा सम्पन्न घरदैलो कार्यक्रम अत्यन्त उत्साहजनक र प्रभावकारी रहेको जानकारी दिए । उनका अनुसार स्थानीय जनताको उल्लेखनीय सहभागिताले आगामी निर्वाचनमा सकारात्मक संकेत दिएको छ ।
कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कोनियामा सम्पन्न घरदैलो अभियानसँगै पर्सा क्षेत्र नम्बर–१ मा चुनावी माहोल थप तातेको देखिएको छ ।