रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद चट भएको छ । मङ्गलवार निर्वाचन आयोगले एउटा सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो । 

पूर्व मन्त्री एवम् आम जनता पार्टीका अध्यक्ष प्रभु साहको श्रीमती समेत रहेकी साह २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन् । यद्यपि पदमा रहँदै उनले एमाले त्यागेर अन्य पार्टीमा प्रवेश गरेको कारण प्रमुख पद गएको निर्वाचन आयोगले जनाएको छ ।

साहलाई निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम पदमुक्त गरिएको जनाएको छ । 

“राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामक राजनीतिक दलको तर्फबाट संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका रौतहट जिल्ला, मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामक राजनीतिक दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त भएको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्ने र सोही नियमको उपनियम (३) बमोजिम सूचना प्रकाशन भएपछि त्यस्ता सदस्यको पद स्वतः रिक्त हुने भनी आयोगबाट मिति २०८०/०६/२९ गते निर्णय भएको हुँदा यो सूचना प्रकाशन गरिएको छ,” आयोगद्वारा प्रकाशित सूचनामा लेखिएको छ ।


साहले एमाले त्यागेर श्रीमानको पार्टी आम जनता पार्टीको सदस्यता लिएकी थिइन् ।