५ असोज , रौतहट - लागुऔषध नियन्त्रण अभियानमा रौतहट प्रहरीले फेरि पनि महत्वपूर्ण सफलता हात पारेको छ। प्रहरी उपरीक्षक (एसपी) नेत्र मणि गिरीको कुशल नेतृत्वमा खटिएको गस्ती टोलीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गर्न सफल भएको हो।


बेलुकी करिब १८:०० बजेदेखि सुरु गरिएको नियमित गस्ती क्रममा, चौकी रामपुरखापबाट प्र.स.नि. अमोद साफीको कमाण्डमा खटिएको टोलीले करिब १९:३० बजेको समयमा ईशनाथ नगरपालिका–८ मोतिपुरस्थित ग्राभेल सडकमा शंकास्पद अवस्थामा गई रहेको प्रदेश ०३-०१-०२२ च १८६१ नम्बरको पिकअप गाडीलाई देखी नियन्त्रणमा लिन खोज्दा चालक गाडी छाडेर फरार भएको थियो।

गाडीको पछाडिपट्टि फुलकाउलीका पोका देखिए पनि तलतिर चेकजाँच गर्दा २६ पोका गाँजा जस्तो देखिने लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

बरामद सामग्रीको विवरण यस प्रकार छः

१५ के.जी.का १९ पोका – जम्मा २८५ के.जी.

७ के.जी.का ७ पोका – जम्मा ४९ के.जी.

कुल जम्मा ३३४ के.जी. लागुऔषध

फुलकाउली – २० पोका

पिकअप गाडी – थान १


बरामद सामग्री र गाडीलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अघि बढाइएको र चालकको पहिचान तथा खोजतलास तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

एसपी नेत्र मणि गिरीले व्यक्तिगत रूपमा अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आफ्नो नेतृत्वमा गस्ती टोलीलाई उच्च मनोबलका साथ खटाएका थिए। उनको नेतृत्व र प्रहरी टोलीको सतर्कताले ठूलो मात्रामा लागुऔषध नेपाल भित्रिनबाट रोकिएको हो।

डीएसपी राजु कार्कीले जानकारी दिँदै भने, “यो सफलता हाम्रो प्रहरी टोलीको उच्च मनोबल र एसपी गिरीज्यूको स्पष्ट निर्देशनकै परिणाम हो। यसले रौतहटमा लागुऔषध नियन्त्रण अभियानलाई नयाँ ऊर्जा दिएको छ।”

यस अभियानले प्रहरी प्रशासनप्रतिको विश्वासलाई अझ मजबुत बनाएको छ। स्थानीय बासिन्दाले पनि एसपी गिरी र उनको टोलीको सक्रियता र साहसिक कार्यको प्रशंसा गरेका छन्।