७ साउन बीरगञ्ज -साउनको पहिलो सोमबार बीरगञ्ज महानगरपालिकाको प्रसिद्ध अलखिया  मठमा एवं वीरगञ्ज महानगरपालिका–१४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा ब्रतालु तथा श्रद्धालुको भीड लागेको छ। 


हिन्दू धर्ममा महादेवको सबैभन्दा प्रिय महिना साउन महिनालाई  मानिन्छ। यो महिनामा विधि अनुसार शिवको पूजा गरिन्छ । यस महिनामा देवताहरूका भगवान महादेवको विधिपूर्वक पूजा–आराधना गर्ने धार्मिक विश्वास छ ।

साउन महिनाभर शिव मन्दिरहरूमा भक्तजनको भीड लाग्ने गर्दछ । शिवको भजन नगुन्जेको सायदै कुनै मन्दिर होला ।


शिवलाई श्रावण महिनाको देवता भनिन्छ । यो महिनाभरि धार्मिक चाडपर्वहरू छन्। पौराणिक मान्यता अनुसार प्रजापति दक्षकी छोरी माता सतीले आफ्नो प्राण त्याग गरी धेरै वर्षसम्म शापित जीवन बिताएकी हुनाले यस महिनामा भगवान शिवको पूजा गरिन्छ । त्यसपछि उनले हिमालय राजको घरमा पार्वतीको रुपमा जन्म लिइन् ।


अर्कोतर्फ, पार्वतीले शिवलाई पतिको रूपमा प्राप्त गर्न साउन महिनाभर कठोर तपस्या गरे, जसका कारण भगवान शिवले उनको इच्छा पूरा गरे। यो श्रावण महिना भगवान शिवलाई आफ्नी पत्नीसँगको मिलनका कारण अति प्रिय छ।

यही कारणले गर्दा यस महिनामा अविवाहित युवतीहरूले असल वरको कामना गर्दै सोमबार व्रत बस्ने गर्दछन् । यसका साथसाथै विधिपूर्वक पूजा आराधना गरिन्छ ।