नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङ्गकङ्ग र दिल्लीमा नियमित उडान गर्ने भएको छ ।

यही भदौ १२ गतेबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडानका लागि निगमले टिकट बुकिङ्गसमेत खुला गरिसकेको छ ।

हरेक मंगलवार हप्ताको एक उडानबाट शुरू गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमले जनाएको छ ।

उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ५:०० बजे काठमाडौंमा अवतरण गर्नेछ ।

तत्पश्चात ट्रान्जिट भइ हङ्गकङ्ग जाने यात्रु हङ्गकङ्ग जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन् ।

यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरू गर्ने निर्णय गरेको हो । यसबाट यात्रुहरूलाई थप सुविधा पुग्ने निगमले विश्वास छ ।