६ साउन , बीरगंज -सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति पदमा कार्यरत रहँदै आएका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाल हालै तीनवटा प्रतिष्ठित संघसंस्थाबाट प्रशंसा–पत्रद्वारा सम्मानित भएका छन्। जिल्लाको सुरक्षा, सीमा नियन्त्रण तथा संकट व्यवस्थापनमा उनको उत्कृष्ट नेतृत्व र समर्पणको उच्च मूल्याङ्कन गरिएको हो।
सीमा सुरक्षा र नेतृत्वको अनुकरणीय उदाहरण
पर्सा जिल्लामा आफ्नो १४ महिनाको कार्यकालमा एसपी धिमालले विशेषगरी सीमा क्षेत्रमा कडाइका साथ सुरक्षा व्यवस्था लागू गर्दै तस्करी नियन्त्रण, शान्ति र अमनचयन कायम राख्न उल्लेखनीय सफलता हासिल गरेका थिए। उहाँको नेतृत्वमा सशस्त्र प्रहरीले राजस्व संरक्षण, आपतकालीन सेवा, तथा स्थानीय तहहरूसँग समन्वय गर्दै अनुशासित र प्रभावकारी सुरक्षा सञ्चालन गर्दै आएको थियो।
छिन्नमस्ता बाहिनीको सम्मान
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी, बर्दिबासले एसपी धिमाललाई कार्यकुशलता, समर्पण र पेशागत क्षमताको कदर गर्दै प्रशंसा–पत्र प्रदान गरेको हो। वाहिनी प्रमुख नायव महानिरीक्षक कृष्ण ढकालद्वारा हस्ताक्षरित सो पत्रमा सीमाक्षेत्रको सुरक्षा, आपतकालीन प्रतिकार्य र राजस्व संकलनमा उनको सक्रिय योगदानको प्रशंसा गरिएको छ।
जिल्ला सुरक्षा समितिको प्रशंसा
पर्सा जिल्ला सुरक्षा समितिले पनि एसपी धिमालको समन्वयात्मक र संयमित नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गर्दै प्रशंसा–पत्र प्रदान गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको तर्फबाट जारी उक्त पत्रमा उहाँको पेशागत दक्षता, इमानदारी र निष्ठाको उल्लेख गरिएको छ।
जगरनाथपुर गाउँपालिकाको कदर
तेस्रो सम्मान जगरनाथपुर गाउँपालिकाले प्रदान गरेको हो। अध्यक्ष श्रीकान्त प्रसाद यादवद्वारा हस्ताक्षरित प्रशंसा–पत्रमा एसपी धिमालले गाउँपालिकामा शान्ति सुरक्षाको वातावरण बनाउँदै समन्वयात्मक सहयोग पुर्याएको उल्लेख गरिएको छ।
तीनवटा फरक–फरक क्षेत्रका प्रतिष्ठित संस्थाबाट प्राप्त यी सम्मानहरू सशस्त्र प्रहरी उपरीक्षक धिमालको कार्यकुशलता, लगनशीलता र राष्ट्रसेवाप्रतिको गहिरो प्रतिबद्धताको प्रतीकका रूपमा हेरिएको छ।
पदस्थापनमा फेरबदल
पर्सामा १४ महिनासम्म गणपतिको भूमिका सम्हालेर उत्कृष्ट कार्य सम्पादन गरेका एसपी धिमालको हालै सशस्त्र प्रहरी प्रधान कार्यालय, काठमाडौंमा सरुवा भएको छ। उनको स्थानमा हाल एसपी पुरन चन्द्र भट्टले सशस्त्र प्रहरी बल नं. १३ गण पर्साको कमान्ड सम्हालेका छन्।
सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालप्रति जिल्लावासी, सुरक्षासंस्थाहरू तथा स्थानीय तहहरूले व्यक्त गरेको कदरले उनको समर्पित सेवाको पुष्टि मात्र गरेको छैन, भावी सुरक्षाधिकारीहरूका लागि प्रेरणाको स्रोत समेत बनेको छ।