जीतपुरसिमरा, बारा ९ बैशाख l
जीतपुरसिमरा
उपमहानगरपालिकाका विभिन्न वडाहरूमा मनसुनजन्य विपद् जोखिम न्यूनीकरण गर्ने
उद्देश्यले लुमन्ती आवासका लागि सहयोग समूहको आयोजनामा मनसुन पूर्वतयारी तथा
आगलागी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मिति २०८३ बैशाख ६
गतेदेखि ९ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रम सशस्त्र प्रहरी बल (एपीएफ) १२
नम्बर गणको सहजीकरण तथा युवा सशक्तिकरण समाजको संयोजकत्वमा सम्पन्न गरिएको हो ।
लुमन्तीको कार्यक्षेत्र अन्तर्गत वडा
नम्बर ९, ११, १९ र २० का विभिन्न समुदायहरूमा आयोजना
गरिएको कार्यक्रममा सामुदायिक उत्थानशील विकास समिति, वडा स्तरीय विपद् व्यवस्थापन समिति,
युवा सञ्जाल, टोल विकास समिति तथा स्थानीय
बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा मनसुनको समयमा हुने
सम्भावित विपद् जस्तै बाढी, डुबान,
चट्याङ, हावाहुरी, आगलागी तथा अन्य प्राकृतिक जोखिमहरू बाट
जोगिने उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । सहभागीहरूलाई विशेष रूपमा विपद् आउनुअघि गरिने तयारी,
जोखिम पहिचान, परिवारस्तरको
आपतकालीन योजना निर्माण, सुरक्षित
स्थानको छनोट, तथा
आवश्यक आपतकालीन सामग्री (खाद्यान्न, औषधि, सुरक्षित
पानी, टर्चलाइट, सिटी आदि) व्यवस्थापनका विषयमा सचेतना
दिइएको थियो ।
त्यसैगरी, बाढी तथा डुबानको समयमा सुरक्षित रूपमा
स्थानान्तरण गर्ने तरिका, चट्याङबाट
जोगिने उपायहरू (खुला स्थानबाट टाढा रहने, विद्युतीय उपकरण प्रयोग नगर्ने आदि), र आगलागीका जोखिम न्यूनीकरणका उपायहरू
(विद्युत् सर्ट सर्किट रोकथाम, ग्यास
चुहावट पहिचान, सुरक्षित
भण्डारण) बारे व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।
सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूले विपद् व्यवस्थापनका क्रममा अपनाइने व्यावहारिक अभ्यासहरू प्रस्तुत गर्दै प्राथमिक उद्धार, आगो नियन्त्रणका आधारभूत सीप (जस्तै पानी, बालुवा वा फायर एक्स्टिङ्गुइशरको प्रयोग), तथा घाइतेको सुरक्षित उद्धार र प्राथमिक उपचारका विधिहरू प्रदर्शनमार्फत सिकाएका थिए। साथै, आपतकालीन अवस्थामा सम्पर्क गर्नुपर्ने निकायहरू, सूचना प्रवाह प्रणाली, र समुदायबीच समन्वयको महत्त्वबारे पनि जानकारी गराइएको थियो । लुमन्तीका सामाजिक परिचालक रबि तिवारीका अनुसार, “यस्ता समुदायमा आधारित सचेतनामूलक कार्यक्रमहरूले विपद् आउनुअघि नै जोखिम न्यूनीकरण गर्न सहयोग पुर्याउनुका साथै आपतकालीन अवस्थामा छिटो र प्रभावकारी प्रतिक्रिया दिन सक्ने क्षमता विकास गर्छ ।”
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला समूह, युवा समूह तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले प्राप्त ज्ञान र सीपले भविष्यमा हुन सक्ने विपद् जोखिमलाई न्यूनीकरण गर्न तथा सुरक्षित बासोबास सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुग्ने पुग्ने छ । लुमन्ती आवासका लागि सहयोग समूहले बिगतका दिनहरूमा पनि समुदायस्तरमै विपद् जोखिम न्यूनीकरण, जलवायु उत्थानशील विकास तथा सुरक्षित आवास प्रवर्द्धनका कार्यक्रमहरूलाई निरन्तरता दिदै आएको छ ।