वीरगञ्ज, असोज ११ । पर्सामा चोरी, डाँका तथा ज्यानसम्बन्धी गम्भीर कसूरमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको अनुसन्धानलाई तीव्रता दिँदै घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।

प्रहरीका अनुसार २०८३ साल असोज ५ गते राति करिब ११ः३० बजे धोबिनी गाउँपालिका–५ स्थित एक घरमा तीन जना युवकले गाँजा सेवन गरी चोरी गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । योजनाअनुसार उनीहरू करिब राति २ः३० बजे घरको पछाडिको पर्खालबाट माथिल्लो तलामा चढी झ्यालबाट घरभित्र प्रवेश गरेको प्रहरीले जनाएको छ ।

घरभित्र प्रवेश गरेपछि उनीहरूले स्टिलको दराज तोडेर नगद तथा गरगहना चोरी गर्नुका साथै अर्को कोठामा रहेको टिनको बाकसको ताल्चासमेत फुटाउँदै गर्दा घरमा रहेकी लखरजिया देवीले आवाज सुनेर माथिल्लो तलामा पुगेकी थिइन् । त्यसक्रममा तीनै जनासँग उनको भेट भएपछि उनीहरूले कर्तव्य गरी हत्या गरेको र घरमा रहेका नगद तथा गरगहना चोरी गरी फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईको नेतृत्वमा परिचालित प्रहरी टोलीले अनुसन्धानलाई तीव्र बनाउँदै घटनामा संलग्न भनिएका तीनै जनालाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा धोबिनी गाउँपालिका–५ का करिब १८ वर्षीय चन्दनकुमार पटेल, सोही स्थानका करिब १८ वर्षीय रामु पासवान र सोही स्थानका करिब १८ वर्षीय ‘घलथरिया’ भन्ने राजकपुर बैठा रहेका छन् ।

पक्राउ परेका तीनै जनालाई सम्मानित पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान कसूरमा सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गम्भीर प्रकृतिको घटनामा प्रारम्भिक सूचना संकलनदेखि संदिग्ध व्यक्तिको पहिचान र पक्राउसम्म प्रहरीले देखाएको सक्रियताले जिल्लामा शान्ति–सुरक्षा कायम गर्ने प्रहरीको प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।

विशेषगरी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईको नेतृत्वमा पर्सा प्रहरीले अपराध अनुसन्धान, अपराधमा संलग्न व्यक्तिको खोजी तथा कानुनी दायरामा ल्याउने कार्यलाई प्राथमिकतामा राख्दै आएको देखिएको छ । यस घटनामा पनि प्रहरी टोलीको समन्वय, सक्रियता र अनुसन्धानमा देखिएको तत्परताका कारण छोटो समयमै आरोपितहरू नियन्त्रणमा लिन सफल भएको प्रहरी स्रोतले जनाएको छ ।

घटनाको थप अनुसन्धान जारी रहेकाले घटनासँग सम्बन्धित अन्य तथ्यहरू अनुसन्धानपछि थप खुल्ने प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरू :

१. चन्दनकुमार पटेल, वर्ष करिब १८, धोबिनी गाउँपालिका–५, पर्सा ।

२. ‘घलथरिया’ भन्ने राजकपुर बैठा, वर्ष करिब १८, धोबिनी गाउँपालिका–५, पर्सा ।

३. रामु पासवान, वर्ष करिब १८, धोबिनी गाउँपालिका–५, पर्सा ।