९ माघ बीरंगज - आज नेपाल–भारत अन्तर्राष्ट्रीय सीमा ( दशगज्जा ) मा अवस्थित सीमा स्तम्भको रंगरोगन , नम्बरिंग तथा मर्मत कार्य सुरु भएको छ।
२४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आज २०८१ माघ ९ गते बुधबारको दिन १२:१५ बजेको समयमा नेपालतर्फ पर्सा जिल्लाको वीरगंज महानगरपालिका-१६ ईनरुवा र भारततर्फ पूर्वी चम्पारणको पन्टोका ग्राम पञ्चायत वडा नं.-४ सुन्दरपुरमा रहेको सानो सीमा स्तम्भ नम्बर ३९१/६ को रंगरोगन तथा नम्बरिंग कार्य सुरु गरिएको छ।
नेपालका तर्फबाट सशस्त्र प्रहरी बल र भारतका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी)ले सीमाको सुरक्षा गरिरहेको छ ।सन् २०१८ मा सम्पन्न नेपाल–भारत बाउन्ड्री वर्किङ ग्रुपको पाँचौं बैठकमा सन् २०१४ पछि मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरूमध्ये जोर नम्बरको सीमा स्तम्भहरू भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत गर्ने निर्णय भएको थियो। जसमा वि. सं. २०७७ साउन १९ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट सशस्त्र प्रहरी बल नेपाललाई सीमा स्तम्भ मर्मत गर्ने जिम्मा दिएको थियो।
सोही निर्णय अनुसार सशस्त्र प्रहरी बल , नेपाल र भारतीय सशस्त्र सीमा बल ( एसएसबी) ले संयुक्त रुपमा सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन सुरु गरिएको हो । मधेश प्रदेशका पर्सा, बारा, सर्लाही र सिराहा जिल्लाका सीमा स्तम्भहरूको सशस्त्र प्रहरी बल , नेपाल , नापी विभागका प्रतिनिधि कपिल कटुवाल एवं एसएसबीका प्रतिनिधिको उपस्थितिमा मर्मत तथा रंगरोगन कार्य बीरगंजबाट शुभआरम्भ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यमा सुरु गरिएको यस कार्यमा सशस्त्र प्रहरी बल,नेपाल नं. १३ गणका गणपति स.प्र.उ. राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक दिलिप कुमार सिंह, नापी विभागका प्रतिनिधि कपिल कटुवाल, जिल्ला प्रहरी कार्यालय, पर्साका प्र.ना.उ. सुवास भट्ट लगायत सशस्त्र प्रहरी बल गुल्म, पर्साका गुल्मपति स.प्र.ना.उ. लोकेन्द्र सुब्बा सहभागी भएका थिए।
भारततर्फबाट 47 BATTALION HEADQUARTERS PANTOKA E Company का AC उत्तम कुमार घोष सहितको टोलीको समेत सहभागिता रहेको यस कार्यक्रममा सानो सीमा स्तम्भको रंगरोगन कार्य विधिवत रुपमा सुरु गरिएको (सुचना अधिकारि ) स.प्र.ना.उ.-नरेन्द्र सिंह धामीले जानकारी दिनु भयो ।