११ असार, बीरगञ्ज — बीरगञ्ज महानगरपालिका वडा नं. ५ कुम्हाटोलस्थित नारायणी स्पोर्ट क्लब पुनः वडावासीका लागि सञ्चालनमा आएको छ । लामो समयदेखि प्रयोगविहीन र अतिक्रमणको चपेटामा परेको उक्त सामाजिक भवनलाई वडाध्यक्ष प्रदीप कुमार चौरसियाको पहलमा पुनः सार्वजनिक उपयोगका लागि खोलिएको हो ।
सार्वजनिक जग्गामा निर्माण भएको भवनमा निजीकरणको प्रयास हुँदै आएको भन्ने गुनासो बढेपछि वडाध्यक्ष चौरसियाले नगर प्रहरी, नेपाल प्रहरी र स्थानीय वडावासीको रोहबरमा क्लब भवनको ताल्चा तोडेर औपचारिक रूपमा सर्वसाधारणका लागि खोलिदिएका हुन् । यस कार्यले वडाको सामाजिक समावेशिता र पारदर्शितामा ठुलो सन्देश दिएको स्थानीयवासीको प्रतिक्रिया रहेको छ ।
उक्त क्लब भवन पूर्व मुख्यमन्त्री तथा वर्तमान प्रदेशसभा सदस्य लालबाबु राउत गद्दीको सांसद विकास कोषमार्फत ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो भने जग्गा समाजसेवी रवि विक्रम शाह शिवराजाले दान दिएका थिए । भवन २०८० साल असार २ गते उद्घाटन गरिएको थियो ।
यद्यपि, भवन निर्माणको क्रममा नक्सा पास नगरिएको, प्रविधिगत कमजोरीका कारण वरपरका छिमेकीको घरमा वर्षातको पानी पसेको गुनासोसमेत आएको छ। त्यसअनुसार वडा कार्यालयले तत्काल मर्मत आवश्यक रहेको जनाउँदै साँचो बुझिराख्ने सरोकारवालालाई सात दिनभित्र बुझाउन सूचना जारी गरेको छ ।
वडाध्यक्ष चौरसियाले नारायणी स्पोर्ट क्लबलाई विवाह, व्रतबन्ध, खेलकुद र अन्य सामाजिक गतिविधिका लागि सर्वसाधारणको पहुँचमा ल्याइने बताएका छन् । क्लबको पुनःसञ्चालन वडास्तरको सामाजिक र सांस्कृतिक जीवनशैलीको सुदृढीकरणमा एक ऐतिहासिक कदम हुने विश्वास लिइएको छ ।
वडाध्यक्ष प्रदीप कुमार चौरसियाको जनपक्षीय निर्णय, पारदर्शिता र सक्रिय नेतृत्वले नारायणी स्पोर्ट क्लबलाई पुनः वडाको गौरवमय साझा थलो बनाएको छ ।