केएनपी जापान प्रालिले करिब ४० लाख रुपयाँको लागतमा जपानी प्रविधिको २० शैयाको सुविधा सम्पन्न नारायणी अस्पतालमा रहेको प्रसूती विभागमा पोष्ट नेटल केयर(पिएनसी) वार्डको आइतबार उपराष्ट्रपति रामसहाय यादवले समुद्घाटन गरेका छन् ।

हस्तान्तरण गरेको उक्त वार्ड उपराष्ट्रपति यादवले उद्घाटन गरेसंगै सञ्चालनमा आएको अस्पतालका मेडिकल सुपरिडेन्टेण्ड डा. चित्तरत्तजन साहले बताए । 

यसअघि अस्पतालमा ६९ शैयाको प्रसूती विभाग सञ्चालनमा थियो । प्रसूती गराएपछि आमा र शीशुलाई कम्तिमा २४ घण्टा अस्पतालमै राख्नुपर्ने नियम भएपनि पएनसी वार्ड नहुदाँ तत्कालै डिस्चार्ज गर्नुपर्ने बाध्यता थियो । अब पिनएसी वार्ड सञ्चालनमा आएपछि आमा र शीशुलाई उक्त सेवा दिन सहज हुने मेसु साहले बताए ।

अस्पताल विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालमा पिएनसी वार्डको सञ्चालनले वर्षमा सात हजार दुई सय सुत्केरीले सेवा पाउने बताए ।

अस्पतालको प्रसूती विभागमा पिएनसी वार्डको अभावमा सुत्केरी महिलाको उपचारमा समस्या भएको जानकारी आएपछि केएनसी जापान प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत करिब ४० लाख रुपैयाँको लागतमा उक्त वार्ड निर्माण गरिएको प्रालिका सञ्चालक अशोक बैद्यले बताए । ३ महिनाको सम्झौता भएतापनी दुई महिनाभित्रै उक्त वार्ड निर्माण गरि अस्पताललाई हस्तान्तरण गरिएकोपनि उनले जानकारी गराए ।

उपराष्ट्रपति यादवले नारायणी अस्पतालामा पिएनसी वार्डको निर्माणले अस्पतालमा बिरामीको उपचार र सेवामा थप सहजता पुग्ने विश्वास लिएको बताए । उनले सरकारी अस्पतालको पूर्वाधार र सेवाको गुणस्तर विस्तारमा सरकारसंगै नीजी क्षेत्रको सहकार्य बढ्दै गएकोमा खुशी व्यक्त गरे । उनले बिरामीले गुणस्तरीय उपचार पाउनका लागि सरकारी अस्पतालको पूर्वाधारसंगै सेवापनि चुस्त बनाउनुपर्नेमा जोड दिए ।

 उद्घाटन समारोहमा पूर्वमन्त्री तथा जसपा नेपालका प्रमुख सचेतक प्रदीप यादव , नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य अजय चौरसिया, प्रतिनिधी सभा सदस्य प्रभु हजरा, प्रदेशसभा सदस्यहरु जनार्दन सिंह क्षेत्री र श्याम पटेल , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, उप प्रमुख इम्तियाज आलम लगायतको उपस्थिती रहेको थियो ।