२९ असार बीरगंज – नेपाल सरकारको भूमि सम्बन्धी नीति अन्तर्गत भूमि आयोग पर्साले पटेर्वासुगौली गाउँपालिकामा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूसँग सम्बन्धित निवेदन दर्ता प्रक्रिया सुरु गरेको छ । विगतमा विभिन्न भूमिसम्बन्धी आयोगहरूले काम गरिसकेका ठाउँहरूमा हाल पुनः निवेदन दर्ता प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ ।

भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदका अनुसार यसपटक आयोगले पहिलेको आयोगमार्फत अभिलेख भइसकेका तर विभिन्न कारणले अधिकारपत्र प्राप्त गर्न बाँकी रहेका व्यक्तिहरूका लागि यो अन्तिम अवसर हो । “हामीले विगतमा काम गरिसकेका फाइलहरूको पुनः अभिलेखीकरण गर्दै प्रक्रिया सम्पन्न गर्ने कार्य तीव्र गतिमा गरिरहेका छौं,” अध्यक्ष अहमदले बताए, “जो कोही यस प्रक्रियाबाट छुटेका वा अपूरा अवस्थामा रहेका छन्, उनीहरूले तत्काल आयोगको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।”

उनका अनुसार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका हक अधिकार सुनिश्चित गर्न आयोग पूर्ण रूपमा प्रतिवद्ध छ । त्यसैले यस्ता नागरिकले आवश्यक कागजातसहित समयमै निवेदन दर्ता गर्नु अत्यावश्यक रहेको स्पष्ट पारिएको छ ।

पटेर्वासुगौलीमा आयोजित निवेदन दर्ता कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोगले यसै क्रममा जिल्लाका अन्य पालिकाहरूमा समेत यस्तै प्रक्रिया निरन्तर रूपमा सञ्चालन गरिने जानकारी दिएको छ ।

स्थानीय नागरिकहरू भने आयोगको यस पहलबाट उत्साहित देखिएका छन् । दशकौँदेखि आफ्नो जग्गा अधिकारका लागि संघर्षरत उनीहरूले यो प्रक्रियालाई न्यायको अन्तिम ढोका मानिरहेका छन् ।

“यो अन्तिम अवसर हो,” अध्यक्ष तबरेज अहमदले स्मरण गराए ।