जर्मनीको संसदको साउथ एसिया समूहका सदस्यहरू र नेपालका लागि जर्मनीका राजदूतले सभामुख देवराज घिमिरेसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुख कार्यालयमा भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध, नेपालको दिगो आर्थिक विकास लगायतका विषयमा छलफल भएको छ ।
भेटमा सभामुख घिमिरेले नेपाल र जर्मनी बीचको लामो कूटनीतिक सम्बन्ध र सन् २०१७ मा जर्मनीका उपसभामुखको नेपाल भ्रमण स्मरण गराएका थिए ।
नेपालको संक्रमणकालीन न्यायका केही विषय सम्बोधन गर्न बाँकी रहेको उल्लेख गर्दै उनले सो विषयलाई संसद्ले यथाशीघ्र टुंगोमा लगाउने बताए ।
जर्मनीका संसदको साउथ एसिया समूहका नेपाल भ्रमणमा रहनु भएकाे टोली नेता रिनाटे कुनास्टाले सभामुख घिमिरेलाई पदभार ग्रहण गरेकोमा शुभकामना दिँदै कार्यकाल सफलताको कामना गरेका थिए।
उनले नेपालमै युवालाई रोजगार तथा आय आर्जनमा संलग्न गराउन सूचना प्रविधिको क्षेत्रमा व्यापक सम्भावना रहेको बताएको सभामुखको सचिवालयले जनाएको छ ।