बिरगंज, चैत ४ गते।
बिरगंजमा पवित्र रमजान महिनाको अवसरमा समाजसेवी एवं नेपाली कांग्रेसका वडा नं. १३ का प्रत्यासी शेख रुस्तमले अति विपन्न नागरिकहरूलाई कपडा वितरण गर्नुभएको छ ।
वडा नं. १३ का पूर्व वडा अध्यक्षका प्रत्यासी समेत रहनुभएका शेख रुस्तमले मुर्ली नयाँ टोलमा एक कार्यक्रम आयोजना गरी करिब ६० जना गरिब तथा असहाय व्यक्तिहरूलाई कपडा सहयोग गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पवित्र रमजान महिनामा गरिब तथा असहायको सेवा गर्नु नै वास्तविक धर्म भएको उल्लेख गर्नुभयो। उहाँले सानो सहयोगले पनि आवश्यकता भएका व्यक्तिहरूको जीवनमा खुसी थप्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय बासिन्दाहरूले शेख रुस्तमको यस सामाजिक कार्यलाई सराहनीय कदमका रूपमा लिँदै उहाँ सधैँ समाज सेवामा सक्रिय रहँदै आएको बताएका छन् ।
रमजानको अवसरमा गरिएको यस प्रकारको सहयोगले समाजमा आपसी सद्भाव, सहयोग र मानवीय भावना थप मजबुत बनाउने विश्वास गरिएको छ ।