बीरगञ्ज - उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्रीले उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट राजीनामा दिन निर्देशन दिएका थिए । मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएसँगै केन्द्रमा यादवले राजीनामा दिएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत रहेका यादवले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् ।
“आज विहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु”, उनले भने ।
उनले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन् ।यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि आजै पदबाट राजीनामा दिएका छन् । जसपा राजनीतिक समिति सदस्य समेत रहेका उनले आजै राजीनामा बुझाएका हुन् ।
जसपा नेपालमा विभाजन आएपछि यादव सरकारबाट बाहिरिने चर्चा चलिरहेको थियो भने आइतबार बसेको कार्यकारिणी समितिको बैठकबाट सरकारबाट बाहिरिने औपचारिक निर्णय भएको थियो ।