२ असार बीरगंज -समस्तीपुर जिल्लाको सिंघिया थाना अन्तर्गत धेनु डिह गाउँमा आइतबार एक दुखद घटना भएको छ । गाउँका अजय यादवकी डेढ वर्षीया छोरी अमृता कुमारीको शरिरमा पंखा खस्दा करेन्ट लागेर ज्यान गएको हो ।
परिवारका सदस्यका अनुसार अमृता दिउँसो घरभित्र सुतेकी थिइन् । त्यसैबेला अचानक पंखा खस्दै तार समेत उनको शरिरमा परेको थियो, जसबाट ती बालिकालाई करेन्ट लागेको थियो । करेन्टले गम्भीर रूपमा घाइते भएकी बालिकालाई तत्काल लाइन काटी सिंघिया पीएचसी पुर्याइएको थियो, तर डाक्टरले उनलाई मृत घोषणा गरे ।
घटनाको जानकारी पाएपछि सिंघिया थाना प्रहरी टोली घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिई पोस्टमार्टमका लागि सदर अस्पताल समस्तीपुर पठाएको हो । मृतक बालिकाका काका रविन्द्र कुमार यादवले घटनाबारे जानकारी दिँदै अत्यन्तै पीडादायक क्षण भएको बताए ।
सिंघिया थाना प्रमुख राजकिशोर रामका अनुसार, पंखा खसेर र करेन्ट लागेर बालिकाको मृत्यु भएको पुष्टि भएको छ । घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र एक मुद्दा दर्ता भइरहेको समेत जानकारी दिइएको छ ।