वीरगंज, चैत १० – मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा भयावह अवस्था रहेको बताएका छन् ।
आइतबार वीरगञ्जमा युनिसेफको सहकार्यमा नेपाल सरकारका खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा आयोजित "खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रगत वित्तीय रणनीति तर्जुमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम" मा उनले यो कुरा उल्लेख गरेका हुन् ।
मन्त्री यादवले मधेशमा खानेपानी र सरसफाईको समस्या सरकारको कमी कमजोरी मात्र नभई जनचेतनाको अभाव र व्यक्तिहरूको गलत बानीका कारण आएको बताए । उनले भने, "स्वच्छता र सरसफाईका लागि अधिकांश नागरिकका घरमा चर्पी बनेका छन्, तर केहीले त्यसको प्रयोग नगरी खुला स्थानमा शौच गर्दै आएका छन् । यो जानीजानी गरिएको गल्ती हो र यसलाई सच्याउन जनचेतना आवश्यक छ ।"
उनले स्थानीय सरकारलाई सरसफाईको प्रमुख जिम्मेवारी वहन गर्न, नियम उल्लंघन गर्नेहरूलाई कारबाही गर्न, र जनचेतना अभिवृद्धि गर्न गम्भीर हुन आग्रह गरे । साथै, खानेपानी, सरसफाई तथा स्वच्छता (WASH) व्यवस्थापनलाई व्यवस्थित गर्न प्रदेश सरकारले सम्बन्धित कानून ल्याउन लागेको जानकारी दिए ।
"अहिलेसम्म कानूनको अभावमा प्रदेश सरकारले सोचेजस्तो काम गर्न सकेको छैन । खानेपानी, सरसफाई तथा स्वच्छताका क्षेत्रमा व्यवस्थित रूपमा कार्य गर्न हामी चाँडै नै नयाँ कानून ल्याउँदैछौँ । आवश्यक खाका तयार भइसकेको छ," मन्त्री यादवले भने ।
उक्त कार्यक्रममा बागमती प्रदेश खानेपानी विभागका सचिव मोहन शाक्यको अध्यक्षता रहेको थियो .। कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णसहित बागमती, कोशी, मधेश र गण्डकी प्रदेशका ३२ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।