वीरंगञ्ज- देशको तराई भू-भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ। तराईमा गर्मीसँगै तातो लहर अर्थात् (हिट वेभ) बढेको छ ।

आज तराईका ८ वटा जिल्ला मध्ये सबैभन्दा धेरै पर्साको वीरगञ्जमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सिरहाको भगवानपुर, रुपन्देहीको तिलोत्तमा, लुम्बिनी, भैरहवा, कपिलवस्तुको तौलिहवा, , रौतहटको गौर, धनुषाको जनकपुर, सर्लाहीको मनुसमारा र नवलपरासी सुस्ता पश्चिमको सेमारीमा अधिकतम तापक्रम ४० डिग्रीकै हाराहारीमा पुगेको छ ।

तराईका जिल्लामा तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ ।तातो हावा तथा लूका कारण स्वास्थ्यमा विभिन्न समस्या थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने लक्षण देखिने महाशाखाले जनाएको छ ।

तापक्रम वृद्धि भएको कारणले तराई र पहाडी भागको धेरै ठाउँहरुमा आगलागी हुँदा धेरै जस्तो बालि लगायत कति पए घर गोठ जलेर नष्ट समेत भएको र आगोमा जलि मानव क्षति पनि भएको छ।गर्मीसँगै वन क्षेत्रमा पनि डढेलो लाग्ने घटना बढेका छन् । अग्नि नियन्त्रण रेखा बनाएर डढेलो रोकथामको प्रयास गरिए पनि पूर्णरुपमा डढेलो नियन्त्रणमा कठिनाइ भइरहेको पाइएको छ ।

अत्यधिक गर्मीले निम्त्याएको खडेरी र डढेलोका कारण आफू वरपरको परिस्थिति फेरिएपछि मानिसहरू निकै अफ्ठेरोमा परेका छन्। अरू कारकहरूसँगै मरुभूमिकरणको मुख्य कारण चाहिँ जलवायु परिवर्तन रहेको छ ।

तातो हावा तथा लूबाट बच्‍न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नबस्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने गर्नु पर्छ ।