विराटनगर, असार १३ - नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा सम्पन्न भएको छ ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीति देवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन तथा प्रश्नोत्तर सत्रको सहजीकरण क्विज मास्टर मनोज तिवारीले गर्नुभएको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले बीमा, वित्तीय साक्षरता, जोखिम व्यवस्थापन तथा बीमा क्षेत्रसँग सम्बन्धित विविध विषयमा आफ्नो ज्ञान, क्षमता र प्रस्तुति कौशल प्रदर्शन गरेका थिए ।

कडा प्रतिस्पर्धाबीच सम्पन्न प्रतियोगितामा मेरिल्याण्ड माध्यमिक विद्यालयका हर्ष सिंह, सुरज पासवान र सम्भव भट्टराई सम्मिलित टोली प्रथम स्थान हासिल गर्न सफल भयो। त्यसैगरी शिक्षादीप बोर्डिङ स्कुलका केशव झा, विशेष पौडेल र अलिसा सापकोटा सम्मिलित टोली द्वितीय तथा श्री पोखरिया माध्यमिक विद्यालयका कृष खतिवडा, अनुकूल आचार्य र प्रज्वल आचार्य सम्मिलित टोली तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रीति देवले बीमा सम्बन्धी जनचेतना विस्तार गर्न विद्यार्थीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र बीमाको महत्वबारे व्यवहारिक ज्ञान अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । साथै, बीमा शिक्षालाई विद्यालय तहदेखि नै प्रवर्द्धन गर्न आगामी दिनहरूमा पनि विविध कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेताहरूलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रथम हुने टोलीलाई नगद रु. २० हजार, द्वितीय हुने टोलीलाई नगद रु. १५ हजार तथा तृतीय हुने टोलीलाई नगद रु. १० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, प्रतियोगितामा सहभागी सबै विद्यालयहरूलाई सहभागिता प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

बीमा सम्बन्धी ज्ञान, चेतना तथा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा कोशी प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय, विराट क्याम्पस विराटनगर, शिक्षादीप बोर्डिङ स्कुल, सिटी माध्यमिक विद्यालय, मेरिल्याण्ड माध्यमिक विद्यालय तथा सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय गरी ६ वटा टोलीको सहभागिता रहेको थियो ।

आयोजकले विद्यालयस्तरबाटै बीमा शिक्षा र वित्तीय साक्षरताको विकास गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ ।