प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल र जेनजी समूहबीच त्रिपक्षीय संवाद जारी छ ।
संवादका क्रममा जेनजी प्रतिनिधिहरूले आसन्न निर्वाचनका सन्दर्भमा आफ्नो स्पष्ट धारणा प्रस्तुत गर्दै सुशासन र भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्न सरकारलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको प्रेस संयोजक राम रावलका अनुसार, जेनजी समूहले “हामीलाई चुनाव चाहिएको छ, तर केवल चुनाव होइन — सुशासन र पारदर्शिता पनि चाहिएको हो” भन्ने स्पष्ट सन्देश दिएको छ ।
छलफलमा राजनीतिक दलका तर्फबाट १६ जना र जेनजी समूहका तर्फबाट १४ जना प्रतिनिधिहरू सहभागी छन् । सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल उपस्थित छन् ।
जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’ का प्रतिनिधिहरू सहभागी छन् ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका तयारी, राजनीतिक सहमति र निर्वाचन वातावरण निर्माण मुख्य एजेन्डा रहेका छन् ।
राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेताहरूको उपस्थिति रहेको छ ।
सरकारले घोषित मितिमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सरोकारवाला सबै पक्षसँग चरणबद्ध रूपमा छलफल र सहमति निर्माणको प्रयास जारी राखेको जनाएको छ ।