वीरगञ्ज, असार २८ ।
सीमावर्ती क्षेत्रबाट हुने अवैध कारोबार नियन्त्रण गर्न सक्रिय रहेको पर्सा प्रहरीले वीरगञ्जमा ठूलो परिमाणमा भन्सार छली गरी लुकाएर राखिएको मदिरा बरामद गरेको छ । प्रहरीको यो कारबाहीले अवैध मदिरा कारोबार गर्ने समूहमा खैलाबैला मच्चिएको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदी नेतृत्वको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित मितेरी पुल नजिक रहेको कस्तुरी कोल्ड स्टोर मा आकस्मिक छापा मारेको थियो ।
छापाका क्रममा भन्सार प्रक्रिया पूरा नगरी चोरी निकासीमार्फत ल्याएर गोप्य रूपमा भण्डारण गरिएको विभिन्न ब्रान्डका मदिरा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद मदिरामा BHERI AMBITION ब्रान्डका ३८ कार्टुन तथा ५९ बोतल, कस्तुरी ब्रान्डका १० कार्टुन, Kingfisher क्यान बियर १ कार्टुन र Kingfisher बोतल बियर १ कार्टुन (२२ बोतल) रहेका छन् ।
कारबाहीका क्रममा वीरगञ्ज महानगरपालिका–३ निवासी करिब ३६ वर्षीय दिपक प्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि भन्सार छली गरी मदिरा भण्डारण तथा कारोबारमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
सीमाको फाइदा उठाउँदै अवैध रूपमा सामान भित्र्याउने र लुकाएर कारोबार गर्ने प्रवृत्तिविरुद्ध पर्सा प्रहरीले निगरानी बढाएको छ । प्रहरीको यो अपरेशनले अवैध व्यापार गर्नेहरूलाई स्पष्ट सन्देश दिएको छ l राजस्व छल्ने र गैरकानुनी कारोबार गर्नेहरू अब प्रहरीको नजरबाट टाढा छैनन् ।
बरामद गरिएको मदिरा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ । साथै घटनामा संलग्न अन्य व्यक्ति वा कुनै संगठित सञ्जाल रहेको छ/छैन भन्ने विषयमा समेत अनुसन्धान जारी रहेको छ ।
सीमावर्ती शहर वीरगञ्ज व्यापारको प्रमुख केन्द्र भए पनि अवैध कारोबारका कारण राज्यले ठूलो राजस्व गुमाउने गरेको छ । त्यसैले प्रहरीका यस्ता कारबाहीले केवल अवैध गतिविधि नियन्त्रण मात्र नभई राज्यको आर्थिक सुरक्षामा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
पर्सा प्रहरीले नागरिकलाई पनि भन्सार छली, चोरी निकासी वा अवैध कारोबारबारे जानकारी भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । अवैध गतिविधिविरुद्धको अभियान निरन्तर जारी रहने प्रहरीले स्पष्ट पारेको छ ।