काठमाडौं, जेठ २८ ।

आम जनता पार्टी (आजपा) ले दलाल दलतन्त्रको भण्डाफोर गर्दै जन गणतन्त्र स्थापनाको लक्ष्यसहित देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

शनिबार कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको सचिवालय बैठकले गणतन्त्र दिवसको सन्दर्भ पारेर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । आजपाले "दलीय गणतन्त्रको भण्डाफोर गरौं! जन गणतन्त्रको दिशामा अघि बढौं!!" भन्ने मूल नाराका साथ देशभर जनजागरण अभियान सञ्चालन गर्ने जनाएको छ ।

आजपाका प्रवक्ता चन्द्रभुषण साहले जारी गरेको प्रेस विज्ञप्तिमा, वर्तमान गणतन्त्र जनताको नभई दलका नेताहरु र तिनका आसेपासे झोलेहरुको लागि सीमित भएको आरोप लगाइएको छ । जनताको वास्तविक हितका लागि जन गणतन्त्रको आवश्यकता औंल्याउँदै आजपाले देशव्यापी कमाण्ड समेत तोकेको छ ।

प्रदेशगत कमाण्ड निम्नानुसार तोकिएको छः

संघीय राजधानी काठमाडौं : प्रभु साह

कोशी प्रदेश : तिलक थापा मगर

मधेश प्रदेश : चन्द्रभुषण साह

लुम्बिनी प्रदेश : त्रिभुवन साह

गण्डकी प्रदेश : ज्ञानेन्द्र कुमार तामाङ

सुदूरपश्चिम प्रदेश : समिना हुसैन

पार्टी संगठनलाई थप प्रभावकारी बनाउन आजपाले त्रिभुवन साहलाई संगठन विभाग प्रमुख, रञ्जु साहलाई आर्थिक विभाग प्रमुख र रविन्द्र प्रसाद सिंहलाई शिक्षक विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

साथै, कार्यसम्पादन मूल्यांकनको आधारमा लुम्बिनी प्रदेशबाट डा. उषमान अली, शम्भु जयसवाल, क. भगत र विद्या शर्मालाई पार्टी सचिवालय सदस्यमा मनोनयन गरिएको छ ।

बैठकले संगठन निर्माण तथा सदस्यता वितरण अभियानलाई तीव्र पार्ने निर्णय समेत गरेको छ । आजपा आगामी दिनमा जनस्तरबाट आन्दोलनलाई थप व्यापक बनाउँदै जाने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।