वीरगञ्ज, २०७८ फागुन २७

– सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघरस्थित मीनाबजारमा टाँगा व्यवस्थापन तथा सरसफाइ अभियान सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा टाँगालाई व्यवस्थित गर्न तथा वीरगञ्जलाई स्वच्छ र हराभरा बनाउने अभियानलाई सशक्त बनाउन अभियान चालिएको छ ।


कार्यक्रममा टाँगा सञ्चालनलाई व्यवस्थित बनाउन मितेरी पुलदेखि बाइपास रोड हुँदै बसपार्कसम्मको मार्ग निर्धारण गरिएको छ। साथै, टाँगाको घोडाले बाटोमा दिशा-पिसाब गरेको पाइएमा त्यसको व्यवस्थापन टाँगा चालक स्वयंले गर्नुपर्ने व्यवस्था गरिएको छ । यदि उप्रान्त बाटोमा घोडाको मलमुत्र छोडिएको पाइएमा वीरगञ्ज महानगरपालिकाको नियमानुसार कारबाही गरिने जनाइएको छ ।

कार्यक्रममा ग्रीन सिटीका उपाध्यक्ष संजय शर्मा, वीरगञ्ज महानगरपालिका सरसफाइ शाखा प्रमुख सर्फुदिन मिया, नगर प्रहरी प्रमुख हरि भुसाल, सरसफाइ सहयोगी शिव पटेल, प्रहरी वरिष्ठ हवल्दार प्रेम राम, प्रहरी सहायक हवल्दार अजिता घिमिरे लगायतको उपस्थिति रहेको थियो ।