आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सांसद किनबेचको विषयमा सरकारको जवाफ माग्दै रौतहटको गौर राईसमिल र वृद्ध गंगाराम बैठाको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।


बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले हालै सरकार सांसद किनबेचमा लागेको भन्ने आरोपहरू सुनिएको उल्लेख गरे। "सत्ता गठबन्धनकै प्रमुख नेताले सरकारले अध्यादेश पारित गराउन सांसद किनबेच गरिरहेको आरोप लगाइरहेका छन्। यो २१औं शताब्दीमा अत्यन्त लाजमर्दो विषय हो। सिंगो संसद नै अपमानित हुने यो घटनामा सभामुख गम्भीर हुनुपर्छ," उनले भने।


साहले केही दिनअघि जसपा अध्यक्ष उपेन्द्र यादवले उठाएको सांसद किनबेचको विषयलाई दोहोर्याउँदै सरकार यसबारे स्पष्ट हुनुपर्ने बताए। "यदि यो आरोप सही हो भने सरकारको जवाफ आउनुपर्छ, गलत हो भने आरोप लगाउनेलाई कारबाही गर्नुपर्छ," उनले जोड दिए।


रौतहटको स्थानीय प्रशासनको दमनविरुद्ध आवाज


साहले रौतहटमा स्थानीय प्रशासनको आतंक चलेको आरोप लगाउँदै गौर राईसमिल र वृद्ध गंगाराम बैठाको मुद्दा उठाए। उनका अनुसार, जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायले व्यक्तिगत रिसिईबीका कारण निर्दोष वृद्ध गंगाराम बैठालाई फसाउने प्रयास गरेका छन्।


"रौतहट अहिले आन्दोलित छ। निर्दोषलाई दोषी बनाउने, दोषीलाई उन्मुक्ति दिने काम भैरहेको छ। ८० वर्षीय वृद्ध दलित गंगाराम बैठालाई कुनै कारणबिना थुनामा राखिएको छ। उनको परिवार धर्नामा छन्, दलित अगुवाहरू आन्दोलनमा छन्," साहले बताए।


गौर राईसमिलमाथि भूमाफियाको चलखेल


साहले गौरको प्रतिष्ठित गौर राईसमिल केही भूमाफियाको चलखेलमा बेच्ने षड्यन्त्र भइरहेको दाबी गर्दै सरकारको ध्यानाकर्षण गराए। "गौर राईसमिल गौरबासीका लागि मात्र होइन, सिंगो रौतहटको गौरव हो। अहिले केही भूमाफियाहरू यसलाई बेच्ने प्रयासमा छन्। गौरबासी त्यसको विरोधमा आन्दोलित छन्," उनले भने।


साहले सरकारले तत्काल हस्तक्षेप नगरे स्थिति जटिल बन्न सक्ने चेतावनी दिए। "रौतहटका नागरिकहरू अन्यायको विरुद्ध लडिरहेका छन्। सरकारले निष्पक्ष छानबिन नगरेको खण्डमा आन्दोलन थप चर्किनेछ," उनले भने।


साहको तीव्र आलोचनासँगै सरकारको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।