भारतले नेपाललाई पुनः २०० वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ । नेपालमा आगामी मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी नेपाललाई भारतले सहयोग गरेको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ । 

मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तान्तरण गरेका हुन् । 

भारतले प्रदान गरेको २०० गाडीमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २ हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४ सय वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहारस्वरूप दिएको छ ।

अर्थमन्त्री शर्माले सवारीसाधन लगायत विकास साझेदारीको रूपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिए ।

राजदूत नवीन श्रीवास्तवले भारतको सहयोगले नेपालको चुनावी कार्यक्रममा सहयोग पुग्ने विश्वास जनाए ।