नाम जस्तै काम भन्ने उखान आज पुष्टि गरेको छ बुटवलका डीएसपी ठग बहादुर केसी ले ।८ लाख ५० हजार नगद र ९ लाख ५० हजार रुपैयाँको चेकमा बेचेका छन् आफ्ना इमान ।
घुस रकमसहित नियन्त्रणमा लिइएका बुटवलका डीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा मङ्गलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर तथा सदस्यद्वय न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केसीलाई दोषी ठहर गर्दै बिगो बराबरकै ८ लाख ५० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा बदनियत राखी सुन नियन्त्रणमा लिएको र सुन फिर्ता गर्न बार्गेनिङ गरेको पुष्टि भएपछि गत साउनमा विशेष अदालतमा घुस रिसवतको मुद्दा दायर गरेको थियो । केसी गत साउन महिनादेखि बर्खास्तीमा परेका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहँदा डीएसपी केसीले सुनचाँदी व्यवसायी किसन बिकसँग घुस लिएको आरोप केसीलाई लागेको थियो । गत वर्षको मङ्सिर महिनामा बुटवल स्थित टेलिकम कार्यालय अगाडीबाट सुन सहित पक्राउ परेका विकको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजार रुपैयाँको चेकसमेत बरामद गरेका थिए । अनुसन्धानका क्रममा उक्त सुन डीएसपी केसीले खाने उद्देश्यले रितपूर्वक बरामद नगरी बार्गेनिङ गरेको र ८ लाख ५० हजार नगद र चेकसमेत लिई सुन फिर्ता गर्ने तयारी भइरहेको खुलदा सो सम्बन्धमा उजुरी परेपछि सिआइबीको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै केसीको कैफियत देखिएपछि सिआइबीको टोलीलाई केसीलाई अख्तियारको जिम्मा लगाएको थियो । नियन्त्रणमा लिएको सुन फिर्ता गर्न बार्गेनिङ गरेको पुष्टि भएपछि गत साउनमा विशेष अदालतमा घुस रिसवतको मुद्दा दायर गरेको र सोही मुद्दामा मंगलबार विशेष अदालतले केसीलालाई दोषी ठहर गर्दै रिसवत मुद्दामा उनी प्रहरी सेवाबाट समेत अलग भएका छन् ।