फ्रान्समा एउटा विज्ञ समूहले बालबालिकाहरुलाई १३ वर्ष नपुगी स्मार्टफोन नदिन सुझाव दिएका छन् मोवाइल लगायतका प्राविधिक उपकरणका कारण बालबालिकाको समग्र विकासमै असर गरेको गुनासो बढेपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले विज्ञहरूको समूह गठन गर्नुभयो । विज्ञहरूको समूहले बालबालिकालाई १३ वर्ष नपुग्दासम्म स्मार्ट फोन वा इन्टरनेटको पहुँच हुने कुनै पनि उपकरणबाट टाढा राख्न सुझाव दिएको समाचार संस्था रोयटर्सले जानकारी दिएका छन् ।

विज्ञहरुले प्रतिवेदनमा नयाँ प्रविधि बजारमा बालबालिका वस्तु बन्दै गएको भन्दै बालबालिकालाई त्यसबाट बाहिर निकाल्नु आवश्यक रहेको उल्लेख गरेका छन् । प्रतिबेदनमा बालबालिकाका आमा तथा हेरचाह गर्ने व्यक्तिले पनि फोनको प्रयोग सकेसम्म कम गर्नुपर्ने सुझाव दिइएको छ ।

विज्ञ समूहले बुझाएको प्रतिवेदनमा बालबालिका ११ वर्ष नपुगिकन साधारण मोवाइल समेत नदिन र तीन वर्ष नपुगी टेलिभिजनसहित कुनै पनि स्क्रिन नदेखाउन सुझाव दिएका छन्  । यस्तै प्रतिबेदनले १५ वर्ष नपुग्दासम्म कुनै पनि सामाजिक सञ्जालबाट टाढा राख्न र १८ वर्ष नपुगिकन टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट जस्ता व्यापक बजारीकरण भएका सामाजिक सञ्जाल चलाउन नदिन सुझाव समेत दिएका छन् ।

अभिभावक दिनभरको कामबाट थकित भएर घर फर्किएको बेला बच्चा शान्त रहोस् भन्ने चाहन्छन् । तर बच्चाहरु ऊर्जावान् हुने भएकाले उनीहरु खेल्न, उफ्रिन चाहन्छन् । उनीहरुलाई शान्त बनाउन अभिभावकले मोबाइल हातमा थमाइदिन्छन्, जसले बिस्तारै यसमा बालबालिकाहरु अभ्यस्त हुन थालेका छन् ।

बाल मनोव्रज्ञानिक, वरिष्ठ वाल चिकित्सक लगायत सहभागी टोलीको प्रतिबेदनमा स्क्रिनले बालबालिकाको आँखा, मेटाबोलिजम, बौद्धिकता, ध्यान र संज्ञानात्मक प्रक्रियालाई नकारात्मक असर गरिरहेको र बालबालिकाको सर्वाङ्गीण विकासमा समेत असर गरिरहेको उल्लेख गरेका छन् ।

कथा सुनाउने प्रयोजनबाहेक बालबालिकालाई अडियो खेलौना समेत दिन नहुने प्रतिबेदनको सुझाव रहेको छ । राष्ट्रपति म्याक्रोँले बालबालिकाको स्क्रिन प्रयोगसम्बन्धी मार्गदर्शन तयार गर्न आवश्यक सुझाव दिन वैज्ञानिक र विज्ञहरूलाई आग्रह गर्नुभएको थियो । फ्रान्सले बालबालिकाको स्क्रिन समय कम गर्ने प्रयास गरिरहेका छन् ।