मधेश प्रदेशको शान्ति–सुरक्षा, सुशासन र आगामी निर्वाचन तयारीका विषयमा महोत्तरीस्थित नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयमा आज एक महत्वपूर्ण समन्वय बैठक सम्पन्न भएको छ। बैठकको प्रमुख आतिथ्य गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका थिए ।

बैठकमा प्रदेशभित्रको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आवश्यक तयारी, समन्वय र रणनीति सम्बन्धी विस्तृत छलफल गरिएको थियो ।

गृहमन्त्री अर्यालले देशभर सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न सुरक्षा निकायबीचको आपसी सहकार्य र समन्वयलाई अपरिहार्य बताउँदै जनताको विश्वास जित्ने खालको प्रशासनिक र सुरक्षात्मक प्रणाली निर्माणमा जोड दिएका छन् ।

उनले भने, “जनताको सुरक्षासँगै सुशासन हाम्रो प्राथमिकता हो। आगामी निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रदेशका सबै निकाय एकजुट भएर अघि बढ्नुपर्छ ।”

बैठकमा प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, प्रमुख जिल्ला अधिकारीहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

बैठकले आगामी निर्वाचनका लागि सुरक्षा तयारी सुदृढ गर्ने, संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाउने र नागरिकमैत्री सेवा प्रवाहलाई तीव्र बनाउने साझा प्रतिबद्धता पनि व्यक्त गरेको छ।