१८ जेठ बीरगंज -मानवसेवा आश्रम वीरगञ्ज शाखाले आज आइतबार दिउँसो २:३० बजे बारा जिल्लाको नौतन चोकबाट मानसिक अवस्था कमजोर भएका एकजना पुरुषलाई उद्धार गरी आश्रम ल्याएको छ। उहाँले आफ्नो नाम ठाकुरजी बताउनु भएको छ र अन्दाजी ४५ वर्ष रहेको मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताले जानकारी दिएका छन् ।"उद्धारपछि उहाँलाई मानवसेवा आश्रम बीरगंजमा ल्याएर सरसफाइ गरी मानसिक रोग विशेषज्ञ डाक्टर भरत गोईटको निगरानीमा औषधि उपचारको व्यवस्था गरिएको गुप्ताले बताए ।"

उद्धार कार्यक्रममा मानवसेवा आश्रम बीरगंजका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, इलाका प्रहरी कार्यालय पर्सौनीका इन्सपेक्टर टुपेन्द्र श्रेष्ठ, नगर प्रहरी समसुलमिया धोबी लगायतका स्थानीय व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

मानवसेवा आश्रम बीरगंजले सडकमा अलपत्र परेका बेसहारा व्यक्तिहरूको उद्धार, औषधि उपचार र पारिवारिक पुनर्मिलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।आश्रमका युवा स्वयंसेवकहरूले सडकमा रहेका असहाय व्यक्तिहरूसँग सहानुभूति र माया सँगै सेवा गर्दै आएका छन्।

यस प्रकारका उद्धार कार्यहरूले समाजमा मानवता र सहयोगको भावना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दैछन्।