अवैध रुपमा भारतबाट ल्याइएको कछुवा सहित एक जनालाइ प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ का ४५ बर्षीय आनन्दलाल टेमानी पक्राउ परेका हुन् । भारतबाट चोर बाटो हुदै कछुवा लिएर आएका उनको साथबाट ११३ वटा कछुवा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वागाउँको बाटो हुदै सोमबार बिहान साढे ९ बजेको समयमा आएका टेमानीलाइ ११३ वटा कछुवा सहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
बिशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले बीआर ०५ ए एफ ०५८३ नम्बरको भारतीय मोटरसाईकललाई रोकेर चेकजाच गर्दा ११३ वटा कछुवा फेला परेको खनालले बताए ।
कछुवा सहित पक्राउ परेका टेमानीलाई वन्यजन्तु सरंक्षण ऐन सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागी डिभिजन वन कार्यालय पर्सामा बुझाइएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।